डा. तुलसी आचार्यद्वारा लिखित संस्मरणात्मक कृति ‘मृत्यु डायरी’ जीवन र मृत्युका अनेक आयाम र भोगाइमा केन्द्रित छ। मृत्यु अवश्यंभावी छ। यसलाई टार्न र छेक्न सकिँदैन भन्ने यथार्थ पुस्तकले पनि पुष्टि गरेको छ। जाने त खानपिन औषधि हो शरीरका लागि। तर नजानेर खानपिनकै कारण लाग्ने रोगले मानिस रोगाउँदै जान्छ। कमजोर र शिथिल हुँदै जाने र पूरा उमेर जिउन नपाई अत्यन्त कष्टपूर्ण मृत्युको सामना गर्नुपर्ने हुन्छ। यस्तै कष्टदायक मृत्युलाई लेखक स्वयंले नजिकबाट देखेर, भोगेर, अनुभूत गरेर लेखिएको जीवनदेखि मृत्युसम्मको सिलसिलेवार शृंखला नै मृत्यु डायरी हो।
गहन, रहस्यमयी र त्रासद मृत्युका बारेमा दुनियाँका विद्वान्हरूको मत अनेक भए पनि ‘जीवन र मृत्यु सत्य हो। यसको अनेक रूप र कारण हुन्छ तर गन्तव्य मृत्यु नै हो भन्ने कुरामा उनीहरूको मत एक छ। लेखकको परिवार (ससुराली)मा घटेको अप्रत्याशित मृत्युले दिएको चोट र पारेका प्रभाव, रिक्तता अनि त्यो घरमा छाएको शून्यतालाई लेखकले वास्तविकतामा रहेर कलम चलाएको पाइन्छ। मृतकका छोरी साथै अबोध नातिनीहरूलै समेत भोग्नु परेको पीडालाई बडो संयमताका साथ उठाइएको छ। आमाको अप्रत्याशित मृत्युको खबर लुकाएर मृतककी छोरी अर्थात् पत्नीलाई लेखकले कोरोना महामारीको समयमा काठमाडौंबाट पोखरासम्मको यात्रा यसमा छ। जसमा भोगेका कुरा, पत्नीलाई ढाँट्दै, ढाडस दिँदै र विश्वास दिलाउँदै गन्तव्यमा पुगेको यात्रा वर्णनले पाठकलाई छुन्छ नै।

अर्को घातक रोगसँगको लडाइँ लडिरहेका लेखकका ससुराको उपचारको चाँजोपाँजो मिलाउने क्रममा आमाको अप्रत्याशित निधनले परिवारमा परेको चोटले कृति पढ्दै जाँदा पाठकलाई समेत स्तब्ध पार्छ। घातक रोग त्यो पनि जटिल भइसकेको अवस्था, दिनप्रतिदिन खस्कँदै गरेको स्वास्थ्य अवस्था र चिकित्सकले भनेका कुरा सबैलाई मूल्यांकन गर्दा उहाँसँग निकै छोटो त्यो पनि अत्यन्त पीडादायक समय मात्र रहेको अवस्था झनै पीडादायी छ। किताबमा उल्लेख वियोग र पीडामा पाठक पनि सामेल हुन्छ, कतिपय ठाउँमा भक्कानिन्छ भने कतिपय प्रसंगमा ‘कसैलाई पनि यस्तो नहोस्’ भनेर कामना गर्छ।
दुखाइलाई परिवार, आफन्त र शुभचिन्तकमा बाँड्न मिल्ने भए ? अझ मानिसलाई दुखाइको पीडा नहुने हो भने जीवन कस्तो हुन्थ्यो होला ? चिकित्सा विज्ञानले दुखाइ बाँड्न मिल्ने प्रविधि निर्माण गर्न सकेको भए बिरामीले पनि बिरामीको महसुस गर्नु पर्थेन कि ? लेखकका ससुरालाई उनको पेटको दुखाइको मात्रा १ देखि १० भित्र मापन गर्न लाउँदा ‘के तपाईंको प्रश्नमा १०० अंक छैन ?’ भन्ने जवाफले दुखाइ कति पीडादायक हुन्छ सहज अनुमान हुन्छ। अधिक दुखाइका सामु औषधिसमेत निरीह बन्दो रहेछ।
‘मृत्यु डायरी’ पढ्दै जाँदा पाठकलाई आफ्नै घरको, आफ्नै गाउँठाउँको मृत्युको घटना झल्झली याद आउँछ। भोग्नेहरूलाई आफ्नै भोगाइ र पीडाहरू दुरुस्तै किताबमा लिपिबद्ध भए झैं लाग्नेछ। नभोगेकाहरूले यस्तो वियोग र पीडा शत्रुलाई पनि नपरोस् भन्ने कामना गर्नेछन्। मृत्युका स्वरूप, कारण र त्यसले छोड्ने प्रभाव व्यक्ति, परिवार र उनीहरूको अवस्थाले पनि फरक पर्ने रहेछ। कसैको घरको मूल धरोहर, कोही पूरै परिवारको ‘अडेस लाग्ने भित्तो’, कोही गाउँसमाजकै अभिभावक गुमाउँदाको पीडा समयक्रममा कम हुँदै जाला, बिर्संदै जाला तर त्यो क्षति भने आफ्नो मान्छे गुमाएकाहरूका लागि निकै ठूलो हुनेछ भन्ने पुस्तकले पुष्टि गरेको छ।
‘मानिस जन्मेपछि कसरी सुरक्षित हुन्छ ? उसको आयु कति लामो छ ? र, मृत्युको घडी कसरी आउँछ ? यी तीन कुरा मानिसका लागि ईश्वरले बनाइदिएका रहस्य हुन्। विश्वप्रसिद्ध अंग्रेजी लेखक लियो टाल्सटायले एउटा कथामा लेखेको सन्दर्भ हो यो।’ मृत्यु डायरीका सम्पादक गोपीकृष्ण ढुंगानाले पुस्तकको सम्पादकीय सम्प्रेषण ‘डिस्कोर्स अन डेथ डायरी’ शीर्षकमा पुस्तकले दिन खोजेको सन्देशलाई यसरी खिचेका छन्, ‘त्यसैले भन्छु– जीवन भर्सेस मृत्यु। मृत्युलाई सजिलै लिन सकिन्न भन्ने निष्कर्ष मलाई ‘मृत्यु डायरी’ले दिएको छ।’ हो, जन्म र मृत्य शाश्वत सत्य हुन्। जन्मको गन्तव्य मृत्यु नै हो। मानिसले प्राकृतिक मृत्युलाई केही हदसम्म स्वीकारेको पाइन्छ तर पनि आफन्त गुमाउँदा पीडा हुन्छ नै। लेखकले ‘मृत्यु डायरी’ लेख्ने क्रममा खुब अध्ययन गरेको महसुस हुन्छ। अन्तर्राष्ट्रिय स्तरका कवि, लेखक, दार्शनिकका मृत्युसम्बन्धी कथन, विचार र उदाहरणहरू किताबमा समावेश गरेर लेखकले नयाँ प्रयोग गर्नुलाई ‘आफ्ना कुरा कम, विज्ञका कुरा बढी’ बोलेको
पाठकले बुझ्नेछन्।
All the books are available on Amazon, Barnes and Noble and everywhere.
यद्यपि किताबमा केही कमीकमजोरी नभएका होइनन्। पत्नी वियोगको चोट मत्थर हुन नपाई आफ्नै पेट दुखाइको पीडामा छट्पटाउँदै गर्दा रोगको पहिचान र निदानको बारेमा निजले खासै सोधखोज नगर्नुको पाटो ओझेलमा छ। पेटको अत्यधिक दुखाइले हो कि निजमा जिउने उत्कट चाहना पनि देखिन्न, मृत्युको त्रास पनि देखिन्न अनि जीवनप्रतिको मोह भंग भइसकेको हो कि वा मृत्युलाई आत्मसात् गर्ने हतारो हो ? रोगी अर्थात् लेखकको ससुराको मनोविज्ञान चैं पुस्तकमा उल्लेख छैन।
नेपालमा उपचार महँगो छ। अझ जटिल रोगको उपचार सामान्य परिवारले धान्न बहुत कठिन हुन्छ। लेखक पत्नीले ‘बरु यो घर बेचेर भए पनि बुवालाई बचाउन पाए हुन्थ्यो’ भन्नेबाहेक कहीँ कतै त्यो परिवारको आर्थिक अवस्था, उपचारमा लागेको खर्चहरूको बारेमा लेखक मौन देखिन्छन् जुन पाठकलाई खट्किरहन्छ।
अन्तिममा ‘मृत्यु डायरी’ (वियोगदेखि योगसम्म) शीर्षकअनुसार सान्दर्भिक छ। मृत्यु अनि त्यसले दिएको वियोग र पीडाका कुरा किताबमा प्रशस्त पाइन्छ तर योगका कुरा खोज्दा पनि नभेटिनुलाई सायद कमजोर पक्ष मान्न सकिन्छ।
समग्रमा, ‘मृत्यु डायरी’ले मृत्युका कुरा गरेको छ। वियोग र वेदनालाई नजिकबाट नियालेको छ। जीवन र मृत्यु सत्य हुन्, जीवन जस्तै मृत्युलाई पनि उत्सव झैं मनाउन सकियो भने पीडादायक मृत्युलाई समय, विज्ञान र परिवारले सहज मृत्युमा रूपान्तरण गर्न सक्यो भने जीवन र मृत्यु दुवै धन्य हुनेछन्।
The review was originally published in Annapurna Post (Jan 27, 20224), A Nepali National Daily


Leave a Reply