एकजना अमेरिकन सेल्फ पब्लिस अथर्स डिजाइनर छिन्। उनको नाम हो, मेन्डी लिन। उनले प्रायः हरेक महिना एक–दुई वटा भिडियो अपलोड गरेकै हुन्छिन्, सेल्फ पब्लिस अथर्सलाई काम लाग्ने कुराका। उनी आफैं प्रकाशक पनि हुन्। कहिले आफ्नै पुस्तकको कभरको रङ फेर्छिन् र रिपब्लिस गर्छिन् त कहिले आफ्नो नामको पछाडि कुनै उपमा थपेर नयाँ कभर बनाउँछिन् र त्यही कन्टेन्ट त्यही शीर्षकमा छाप्छिन्, फरक स्वाद र फरक रूपमा। जस्तो बजारमा पाइन्छन् नि विभिन्न रूप, आकार, प्रकार, स्वादका समान, त्यस्तै। भन्छिन्, ‘नबिकेको पुस्तक फरक स्वादमा उति नै बिकेको छ।’
भर्खरै अमेरिकन साथी सान्ड्रा रास्ट्रिरोलाले सेल्फ पब्लिस गरिन् आफ्नो पुस्तक ‘मेकिङ फ्रेन्ड्स विथ मोनोस्टर’। जुन पैसा तिरेर विज्ञापन गरिने ‘पब्लिसर विक्ली’ पत्रिकाको ‘बुक लाइफ’ पेजमा ‘इडिटर्स पिक’ हुन सफल भयो। उनले आफ्नै स्थानीय ठाउँ क्यालिफोर्नियाका पुस्तक पसलमा गएर बुक साइनिङ गरिन्, मिडिया अप्रोच आफैं गरिन्। उनी भन्छिन्, ‘सोचेभन्दा बढी कपी गइसक्यो। हरेक दिन जम्मा हुने रोयल्टी म आफंै हेर्छु।’ उनी सन्तुष्टिको हाँसो फैलाउँछिन्।
अमेरिकाको वा अन्तर्राष्ट्रिय सन्दर्भमा आफ्नो पुस्तकको प्रकाशन आफैं गर्नेहरूको संख्या बढ्दो छ। धेरै लेखक आफैं प्रकाशक हुन थालेका छन्। जसलाई हामी स्वतन्त्र (सेल्फ पब्लिस) लेखक भन्छौं। अंग्रेजीमा ‘इन्डी अथर्स’ वा ‘इन्डिपेन्डेन्ट अथर्स’ पनि भनिन्छ। ‘इन्डी अथर्स’ भन्नाले कमर्सियल अर्थात् व्यापारिक प्रयोजनका लागि स्थापित भएका ठूला नाम चलेका प्रकाशन गृहहरूबाट पुस्तक छपाउने नभएर, आफ्नै लगानीमा कुनै साना तथा मझौला प्रकाशन गृह वा सेल्फ पब्लिस प्लेटफर्ममार्फत पुस्तकलाई बजारमा ल्याउने लेखक भन्ने बुझिन्छ।
आजभोलि लेखक आफैंले ‘प्रिन्ट अन डिमान्ड’ (अर्थात् पाठक वा क्रेताको अनलाइन अर्डर आएपछि छापिने)मा पुस्तकहरू सेल्फ पब्लिस र बिक्री गर्छन्। यसो गर्दा लेखकले कुनै प्रकाशकको ढोका चहार्नु पनि पर्दैन। लेखकले आफ्ना पुस्तकलाई अन्तर्राष्ट्रिय बजारमा सजिलै र सीधै उपलब्ध गराउन सक्छन्।
भलै ती पुस्तक भौतिक रूपमा विभिन्न पुस्तक पसलमा उपलब्ध हुन नसक्लान् वा हुँदैनन्। ‘इन्डी’ अथर्सका लागि त्यस्ता ‘सेल्फ पब्लिस प्लेटफर्म’हरू अनगिन्ती छन्। जस्तो इन्ग्राम स्पार्क, अमेजन केडीपी, लुलु प्रेस र डिजिटल टु ड्राफ्ट।

यस्ता प्लेटफर्मबाट प्रकाशित पुस्तकहरू सीधै उपलब्ध हुन्छन्, अमेजन, बान्र्स एन्ड नोबल, बुक्स ए मिलियन, ई–बे, वाल मार्ट आदिमा। पुस्तक ‘गुगल प्ले’मा पनि ‘फ्रि अफ कस्ट’ उपलब्ध गराउन सकिन्छ र सकिन्छ हार्डकभर, अडियो, पेपरब्याक र किन्डल फम्र्याटमा पनि।
‘इन्डी’ लेखकहरूको पुस्तक डिजाइन, सम्पादन र प्रकाशनसम्म सहयोग पु¥याउन थुप्रै प्रकाशन गृहहरू पनि खुलेका छन्, जस्तो बुक बेबी, फ्रुसन
पब्लिसिङ, प्यासिफिक एन्ड कोर्ट आदि। तिनीहरूको तौरतरिका ठ्याक्कै परम्परागत शैलीका प्रकाशन गृहको जस्तै हुन्छ, तर लेखकसँग मोटो रकम असुलेर। सामथ्र्य हुने लेखकले त्यो पनि गर्छन्। सामथ्र्य नहुनेले तिनै ‘सेल्फ पब्लिस प्लेटफर्महरू’ प्रयोग गर्छन्।
पुस्तकको फम्र्याटिङ र डिजाइन पनि आफैं गर्छन्, युट्युब भिडियो हेरेर वा विभिन्न ¥यापको प्रयोग गरेर, जस्तो क्यानभास।
अन्तर्राष्ट्रिय सन्दर्भमा परम्परागत प्रकाशन गृहबाट पुस्तक प्रकाशन गर्न सजिलो छैन। त्यस्ता प्रकाशन गृहसँग एक त लेखकको सीधै पहुँच हुँदैन नेपालको जस्तो। लेखक लिटेररी एजेन्ट (साहित्यिक लेखनको प्रतिनिधित्व गर्ने व्यक्ति जसलाई प्रकाशन गृहले तलब दिएर राखेको हुन्छ वा निश्चित प्रतिशत आय तोकिदिएको हुन्छ। यदि उसले प्रतिनिधित्व गरेको पुस्तक छापियो भने)को मार्फत जानुपर्ने हुन्छ।
लिटेररी एजेन्ट सहज हुँदैनन्। आआफ्नो विधामा नाम चलेको लेखकलाई नै खोजिरहेका हुन्छन्।
कसरी एजेन्ट छान्ने ? ती एजेन्टले तपाईंको पुस्तकको प्रतिनिधित्व गर्छन् या गर्दैनन् ? भन्ने थाहा पाउन चैं एउटा हरेक वर्ष निस्किने ‘राइटर्स मार्केट’ नामक पुस्तक हुन्छ, त्यसमा प्रकाशन गृह र लिटेररी एजेन्टको नाम र सम्पर्क ठेगाना हुन्छ। कोही इमेलबाट कुरा गर्न चाहन्छन्, कोही चिठीबाट। समय यति नै लाग्छ भन्ने थाहा हुँदैन। त्यही भएर छिटो छरितो र आफूले भने जसरी गर्नलाई धेरै लेखक सेल्फ पब्लिस प्लेटफर्म खोज्छन्, जुन विगतको तुलनामा धेरै अगाडि छ।
अहिले सेल्फ पब्लिसको बजार ह्वात्तै बढेको छ। लेखकहरूलाई नै लक्षित गरेर प्रकाशित हुने पत्रिका ‘पब्लिसर विक्ली’मा जिम मिलेट आफ्नो लेख ‘सर्भे फाइन्डस् सेल्फ पब्लिस्ड अथर्स मेकिङ गेइन्स’मा लेख्छन्– ‘सर्वेक्षणले यो स्पष्ट पार्छ कि स्वयं प्रकाशित लेखकहरूको औसत आम्दानीले २०२१ वर्षभित्र ५० प्रतिशतभन्दा माथि वृद्धि ग¥योे, यो परम्परागत प्रकाशकहरूमा रहेका लेखकहरूको भन्दा अधिक रकम हो (अप्रिल १७, २०२३)।
सेल्फ पब्लिस गर्दाका फाइदा धेरै छन्। हरेक कुरा आफ्नो नियन्त्रणमा हुनु। जस्तो, पुस्तकको विषय के हुने ? आवरण कस्तो हुने ? प्रकाशन कहिले गर्ने ? आदि। त्यसैगरी पुस्तकबाट आउने रोयल्टीको दैनन्दिन ‘अपडेट’ आफैंले हेर्न पाउने। ‘इन्डी अथर्स’हरूले त्यसमा जति आनन्द पाउँछन्, परम्परागत प्रकाशन गृहबाट पुस्तक प्रकाशित भएका लेखकहरूले त्यो पाउँदैनन्। भलै केही हदसम्म शंकाको सुविधा भने मिल्छ कि उनीहरूले परम्परागत प्रकाशन गृहबाट पुस्तक प्रकाशित गरेका हुन्। तर धेरै लेखकका लागि त्यो ठूलो कुरा हुन छोडेको छ।
‘इन्डी अथर्स’हरूको आफ्नै सञ्जाल हुन थालेको छ। वार्षिक सम्मेलन हुनेदेखि पुस्तकका छलफल हुनेसम्म र पुस्तकलाई पाठकमाझ कसरी पु¥याउने भन्ने बारेमा चर्चा हुन थालेको छ। ती पुस्तकहरूले परम्परागत प्रकाशन गृहबाट छापिएका पुस्तकले भन्दा राम्रो गरेका छन्। इन्डी अथर लेजली पेनेलोपको भर्खरै प्रकाशित अंग्रेजी पुस्तक ‘दि मोनोस्टर वी डिफाई’ एउटा बलियो उदाहरण हुन सक्छ।
आफ्नै उदाहरण दिन चाहन्छु। नेपालमा प्रकाशन भएका मेरा पुस्तकका प्रकाशकका आशयअनुसार मेरा पुस्तक एक कपी पनि बिकेका छैनन्। तर तिनै पुस्तकलाई मैले अन्तर्राष्ट्रिय बजारमा सेल्फ पब्लिस प्लेटफर्ममार्फत उपलब्ध गराउँदा मैले गएको एक वर्षमा झन्डै पाँच सय डलर रोयल्टी अर्थात् कम्तीमा नेपाली रकम ५० हजारसम्म बनाएछु। यदि त्यसो हो भने म किन परम्परागत पब्लिसर र लिटेररी एजेन्टको पछि लागौं ? आफैंले प्रकाशन गराएर पुस्तकको ‘प्रोमो’ गर्ने हो भने र यदि त्यो पुस्तक राम्रो छ भने त्यसको सम्पूर्ण नाफा लेखकलाई नै जान्छ।
सफलता हात लागिसकेका केही ‘इन्डी अथर्स’हरू भन्छन्– लेखकले ‘मार्केटिङ स्ट्याट्रेजी थाहा पाउनु प¥यो। ‘पब्लिस योर बुक’की कार्यकारी निर्देशक तिसेना ड्याभिस भन्छिन्, ‘लेखकहरू मिलेर एकअर्कालाई प्रोमो गर्ने काम गर्नु प¥यो।’ अहिले त सेल्फ पब्लिस लेखकहरूका लागि ‘इन्डिपेन्ड पब्लिसर बुक्स एसोसिएसन’ नै छ। ड्याभिस जोड दिन्छिन् पुस्तकको गुणस्तर राम्रो हुनुपर्नेमा, कभरको गुणात्मकता ध्यान दिनुपर्नेमा र सम्पादक क्षमतावान् हुनुपर्नेमा।
यसैगरी, उनी भन्छिन्– ‘नेटवर्किङ बनाउनु पर्छ, विद्यालय, विश्वविद्यालयसँग सम्बन्ध विस्तार गर्ने, पुस्तक पसलमा गएर, मिलेर बुक साइनिङ कार्यक्रम राख्ने, ‘न्युज लेटर’ निकाल्ने र आफ्ना पाठकलाई अपडेट गर्ने, अनलाइन मार्केटको सदुपयोग गर्ने, सोसल मिडियाको सिर्जनशील प्रयोग गर्ने आदि। ‘आफ्नो पुस्तकलाई ब्रान्ड बनाउनु सक्नु प¥यो’, उनको तर्क छ।
कमर्सियल प्रकाशनका लागि पुस्तक तयार हुन धेरै थोक चाहिन्छ। जस्तो– कथाको बनोट, पात्रको चित्रण, फाइन ट्युनिङ, भाषा, सम्पादन आदि। तर त्यही कुराले पुस्तक सफल हुन्छ भन्ने कुराको ग्यारेन्टी भने गर्न सक्दैन।
यदि तपाईं लेखनमा निश्चिन्त हुनुहुन्छ र तपाईंको प्यासन लेखन नै हो भने लेखेर २÷४ जना प्रोफेसनल पाठकलाई पढ्न र इमानदार भएर प्रतिक्रिया दिन भन्नुहोस् र उनीहरूको प्रतिक्रिया सुनेर वा पढेर त्यहीअनुसार काम गर्नुहोस्। त्यस्ता पाठकलाई अमेरिकामा ‘बेटा रिडर’ भन्छन् अर्थात् पढेर प्रतिक्रिया दिने पाठक।
संसार ग्लोबलाइज्ड भइसकेको छ। पाठकका स्वादहरू फरक छन्। यस्तै खाले लेखनले नै पाठकलाई तान्छ भन्ने छैन। अभ्यास हो, लेखन। गर्दै जाने हो। त्यसो भनेर तपाईंले सेल्फ पब्लिस प्लेटफर्मको दुरुपयोग गर्ने पनि होइन, जस्तो पायो त्यस्तै पुस्तक प्रकाशन गरेर। त्यसका लागि राम्रो सम्पादन र प्रुफ रिडिङ भने अवश्य हुनुपर्छ।

अंग्रेजीमा लेख्नुहुन्छ भने र अन्तर्राष्ट्रिय बजारमा प्रकाशन गर्नुहुन्छ भने अन्तर्राष्ट्रिय तहमै व्यावसायिक सम्पादकहरू पाइन्छन्। उनीहरूको फि (लिने रकम) हेरीहेरी हुन्छ। विभिन्न वेबसाइटमा गएर तिनलाई भेट्न सकिन्छ, जस्तो ‘फस्र्ट एडिटिङ डट कम’, ‘रिडसी’, ‘इडिटोरिअल फ्रिल्यान्सर एसोसिएसन’ आदि। उनीहरूको रेट (दर) सही हुन्छ।
तपाईंले कसैलाई गुहार्नु पर्दैन। तपाईं आफंै मालिक बन्नुहुन्छ आफ्नो पुस्तक लेखन, प्रकाशन तथा प्रमोसनसम्मको। अनि भइएन त आफैं लेखक, आफैं प्रकाशक ! बजार अब नेपालभित्र मात्रै छैन। यसरी भनौं– बजार अब नेपाल बाहिर पनि प्रशस्तै छ। अहिले ‘इन्डी अथर्स’हरू बढ्दै गएका छन्। यस्तै हो भने बिस्तारै परम्परागत प्रकाशन गृहहरू धराशायी बन्दै जानेछन्। लेखकसँग पारदर्शी नहुने, लेखकसँगै उल्टै पैसा असुल्ने र नाम चलेका मात्र लेखक(व्यक्ति)लाई समाउने प्रकाशन गृहहरू विस्तारै विलय नै हुन सक्छन् भन्दा अत्युक्ति नहोला।
भोलि तपाईंको ‘सेल्फ पब्लिस’ पुस्तकले पाठकको मन समात्यो भने परम्परागत प्रकाशन गृहहरू तपाईंलाई लाखौं डलरमा किन्न आउनेछन्। हिजो ती नाम चलेका लेखकहरू सेल्फ पब्लिस लेखक नै थिए। जस्तो, इड्गार अलान पो, चाल्र्स डिकेन्स, मार्क ट्विन, जेन आस्टिन। अझ भनौं– ‘फिफ्टी सेड्स अफ ग्रे’की लेखिका इ.एल. जेम्स पनि सेल्फ पब्लिस नै थिइन्। जसको पुस्तक बाहिर आएपछि लाखौं कपी बिक्री भयो। पछि परम्परागत प्रकाशन गृहले उनलाई ठूलो रकम दिएर आफ्नो प्रकाशनबाट छाप्यो।
भर्खरै इन्डी अथर्समध्ये एक क्रिस्टिन हेनबर्गको अंग्रेजी गैरआख्यान ‘बाउन्डलेस: एन अबोर्सन डक्टर बिकम्स अ मदर’ले सेल्फ पब्लिस लेखकहरूका लागि बनेको प्लेटफर्म ‘बुक लाइफ’ अवार्ड जितेको छ। जुन पाँच हजार डलरको पुरस्कार हो। उक्त पुस्तकले दिने ज्ञान र आनन्द कुनै पुलित्जर पुरस्कारभन्दा कम छैन।
परम्परागत प्रकाशनबाट छापिएका पुस्तकका लेखक मात्र लेखक हुन् वा पुस्तक मात्र पुस्तक हुन् भन्ने भ्रमलाई आजैबाट चिरिदिऔं। त्यो एउटा परम्परागत प्रकाशन गृहले लादेको ‘हेजेमोनिक’ सोच हो। ‘सेल्फ पब्लिस अथर्स’को वृद्धि र सफलताले त्यो भ्रमलाई चिर्दिसकेको छ। एक दिन परम्परागत प्रकाशन गृह ‘रेलिक अफ दि पास्ट’ हुन सक्छन्। किनकि तपाईं यस्तो समयमा हुनुहुन्छ कि तपाईं आफैं अब प्रकाशक हो। (original link: अब लेखक आफैं प्रकाशक! | अन्नपूर्ण पोस्ट् (annapurnapost.com))
पुस्तक लेख्नु भनेकोआधा युद्धमात्र हो: Sandra L. Rostirolla

सन् २०१७ यता चारवटा पुस्तक ‘सेल्फ पब्लिस’ गरिसकेकी र पब्लिसर विक्लीको बुक लाइफ पृष्ठमा सम्पादकीय सूचीमा पर्न सफल पुस्तक ‘मेकिङ फ्रेन्ड्स विथ मोन्स्टर्स’की लेखिका सान्ड्रा एल रोस्टिर्रोलाको अनुभव भने सकारात्मक छ। भन्छिन्, ‘समग्रमा, मेरो अनुभव सकारात्मक भएको छ, यद्यपि मैले विगत केही वर्षमा महŒवपूर्ण परिवर्तन देखेको छु। सेल्फ पब्लिसप्रतिको नकारात्मक धारणा र सेल्फ पब्लिस लेखकहरूलाई लाग्ने आक्षेप वा कलंकमा कम हुँदै गएको छ।’
सान्ड्राले सेल्फ पब्लिस गरेर पुस्तक बिक्री गर्ने निकै ठूलो अनलाइन प्लेटफर्महरूमा विज्ञापन गरिन्। ‘मैले अमेजनमा धेरै सफल विज्ञापन अभियानहरू चलाएँ’, उनी भन्छिन्, ‘अर्को महŒवपूर्ण परिवर्तन सामाजिक मिडिया भएको छ। टिकटकले धेरै सेल्फ पब्लिस लेखकहरूका लागि खेल मैदान नै परिवर्तन ग¥यो, विशेषगरी रोमान्स र काल्पनिक शैलीहरूमा।’ उनका अनुसार धेरै लेखकले स्व–प्रकाशनलाई छाने जुन परम्परागत प्रकाशकले पूरा गर्न सकेन, रोयल्टीदेखि हरेक कुरामा। उनी थप्छिन्, ‘जब तपाईं स्व–प्रकाशन गर्नुहुन्छ, तपाईं धेरै टोपी लगाउनु हुन्छ। तपाईं केवल एक सर्जकमात्र होइन, तर एक प्रकाशक पनि हुनुहुन्छ, त्यसैले तपाईं व्यापार पक्ष सिक्न इच्छुक हुनुपर्छ। पुस्तक लेख्नु भनेको आधा युद्धमात्र हो। कसैले पनि यसको बारेमा थाहा नपाएसम्म यसलाई पढ्ने छैन।’
सान्ड्राका लागि स्व–प्रकाशन एक आवश्यकता भयो। ‘म सुरुमा परम्परागत मार्गमा गएँ र मेरो पछिल्लो पुस्तक, ‘मेकिङ फ्रेन्ड्स विथ मोन्स्टर्स’का लागि एक एजेन्ट पनि सुरक्षित गरें। पाँच प्रकाशकले मेरो पाण्डुलिपिलाई छ महिनासम्म समाते तर अन्ततः अस्विकार गरे’, उनी भन्छिन्, ‘तर म मेरो कथामा विश्वास गर्थें, म इन्डी (सेल्फ पब्लिस) मार्गमा गएँ। तपाईंलाई सहयोग गर्ने त्यहाँ धेरै संस्थाहरू छन्, जुन स्व–प्रकाशित लेखकहरूका लागि मार्गदर्शन प्रदान गर्दछन्। यद्यपि इन्डी लेखकको लागि बाटो अझै पनि कठिन छ। मार्केटिङ संसारमा धेरै ढोकाहरू बन्द छन्। प्रचारक फेला पार्न मलाई लामो समय लाग्यो किनभने धेरैले मलाई भने कि उनीहरू स्व–प्रकाशित लेखकहरूसँग काम गर्दैनन्।
फेरि सेल्फ पब्लिस पुस्तक भएपछि राम्रा मिडियाले स्थान दिन हिच्किचाउँछन्।’
यद्यपि स्व–प्रकाशन र परम्परागत प्रकाशन दुवैका आफ्ना जोखिम छन्, कमजोर र बलिया दुवै पक्षहरू। ‘एउटा कुरा के हो भने जब तपाईं एक पहिचान योग्य ब्रान्डद्वारा प्रकाशित हुनुहुन्छ तब तपाईंका लागि अधिक ढोकाहरू खुल्छन्। तर स्व–प्रकाशनको प्लस पक्ष यो हो कि तपाईं आफैं टाइम लाइनहरू नियन्त्रण गर्नुहुन्छ। प्रकाशकले छानेको तपाईंको पुस्तकको अर्को दुई वर्षका लागि प्रकाशन मिति नहुन सक्छ, जबकि स्व–प्रकाशित लेखकहरूले चाहेको बेला प्रकाशन गर्न सक्दछन्’, उनी अनुभव साट्छिन्।
स्व–प्रकाशित लेखकहरूले आफ्ना पुस्तकहरू सार्वजनिक गर्नुअघि विचार गर्नुपर्ने महŒवपूर्ण कुराहरूलाई उल्लेख गर्दै उनी तीन कुरामा जोड दिन्छिन्–
१. पुस्तकको आवरण र आन्तरिक डिजाइन।
२. सामाजिक मिडिया पुस्तकको प्रचारप्रसार र तिनीहरूको सही प्रयोग।
३. पुस्तकको मार्केटिङ गर्ने रणनीति।
सेल्फ पब्लिस लेखकले यो तीनवटा कुरामा परम्परागत प्रकाशनले झैं प्रोफेसनल भएर काम भने गर्न सक्नुपर्छ। उनी सेल्फ पब्लिस लेखकहरूलाई, सबै लेखकहरूलाई समान विचारधारा भएका लेखकहरूको समुदाय निर्माण गर्न प्रोत्साहित गर्छिन् र एकअर्काबाट सिक्न सुझाउँछिन्।
अन्त्यमा, स्व–प्रकाशित पुस्तकहरूको अवस्थामा निरन्तर विकास भइरहेको छ। केही स्व–प्रकाशित कृतिहरूले ठूलो सफलता प्राप्त गरेका छन्। अर्थात् बेस्टसेलर सूचीमा पुगेका छन् र आलोचनात्मक प्रशंसा प्राप्त गरेका छन्। स्व–प्रकाशन लोकप्रियतामा वृद्धि भएको छ। बजारमा बढ्दो प्रतिस्पर्धी भएको छ। जसले लेखकहरूलाई भीडबाट बाहिर खडा हुन मार्केटिङमा समय र आफ्नो प्रयासको लगानी गर्न बाध्य बनाउँछ।
स्व–प्रकाशित लेखकहरूले गरेको प्रगतिको बावजुद, तिनीहरूले सामना गर्न सक्ने केही चुनौतीहरू अझै पनि नभएका भने होइनन्। स्व–प्रकाशनसँग सम्बन्धित गलत अवधारणा वा त्यो लाञ्छनालाई पार गर्नु त्यति सजिलो भने छैन। तर व्यावसायिक सम्पादन र डिजाइनको माध्यमबाट उच्च गुणस्तरको सामग्री सुनिश्चित गर्नु र मार्केटिङको जटिलताहरू चिर्दै अगाडि बढ्न सक्यो भने सेल्फ पब्लिसको बजार अझ आसलाग्दो छ, लेखक र पाठक दुवैका लागि। (Original link: पुस्तक लेख्नु भनेकोआधा युद्धमात्र हो | अन्नपूर्ण पोस्ट् (annapurnapost.com))
लेख्ने र प्रकाशन गर्ने काम अर्थपूर्ण हुन्छ: Christine Henneberg
‘सेल्फ पब्लिस’ लेखकद्वारा लेखिएका कृतिमध्ये छानिएको अमेरिकन डलर पाँच हजारबराबरको ‘वेस्ट इन्डी अथर्स’ पुरस्कार विजेता क्रिस्टिन हेनेरबर्गसँग इमेलबाट लिएको छोटो अन्तर्वार्ता। उनको कृति ‘बाउन्डलेस’ले उक्त पुरस्कार प्राप्त गरेको थियो।

तपाईंको ‘सेल्फ पब्लिस’ अनुभव के छ ?
म धेरै कारणले गर्दा मेरो संस्मरण ‘बाउन्डलेस’ सेल्फ पब्लिस गर्न लामो समयसम्म हिचकिचाएँ। एउटा व्यावहारिक कारण यो थियो कि यो मेरा लागि भारी विषय थियो। कहाँबाट सुरु गर्ने ? कसरी के गर्ने ? मलाई थाहा थिएन। एकपटक मलाई मद्दत गर्न केही व्यक्ति नियुक्त गरें– मुख्यतया एक क्षमतावान् सम्पादक, अद्भुत र अनुभवी पुस्तक डिजाइनर। मलाई लाग्यो कि मसँग एक टोली छ। यी मानिसहरूले मेरा प्रश्नहरूको जवाफ दिन सक्थे। मलाई वास्तवमै केही पनि थाहा थिएन। उनीहरूले मेरा समस्यामा सल्लाह दिन्थे। त्यसपछि ममा आत्मविश्वास बढ्यो। जब पुस्तक निस्कियो, तब मैले एक प्रिय मित्र तथा स्थानीय पुस्तक पसलका मालिकलाई मेरा लागि एउटा पार्टी दिन आग्रह गरें, जुन मेरा लागि एक अद्भुत अनुभव रह्यो।
तपाईं परम्परागत प्रकाशनमा किन जानु भएन र सेल्फ पब्लिस नै रोज्नु भयो ?
वास्तवमा यो पुस्तक परम्परागत रूपमा प्रकाशित गर्न चाहन्थें। न्युयोर्क सहरमा मेरा एक अद्भुत एजेन्ट थिए। उनले मेरो पुस्तकको प्रतिनिधित्व गरेर प्रकाशक भेट्टाउन धेरै प्रयास गरे, तर सकेनन्। लाग्यो कि मेरो पुस्तक धेरै संवेदनशील र विवादास्पद विषयको बारेमा छ। तर त्यो समयमा मलाई मेरो लेखन र मेरो विचारको अस्वीकृति भएको हो कि जस्तो महसुस भयो। जुन मेरा लागि धेरै पीडादायी थियो। सेल्फ पब्लिस (स्व–प्रकाशन) गर्ने साहस जुटाउन मलाई लामो समय लाग्यो।
परम्परागत प्रकाशक पाउन गाह्रो हुने लेखकहरूलाई तपाईं के सल्लाह दिनुहुन्छ ?
हतोत्साहित नहुनुहोस्। लज्जित पनि नहुनुहोस्। यदि तपाईं लेख्न मन पराउनु हुन्छ र लेखिरहनु हुन्छ भने तपाईं लेख्दै जान सक्नु हुनेछ। चाहे तपाईंले प्रकाशक पाउनुहोस् वा नपाउनोस्। तपाईं लेखिरहनु हुन्छ भने त्यो नै गर्व गर्न लायक पक्ष हो।
स्व–प्रकाशित प्लेटफर्महरू कत्तिको प्रभावकारी हुन सक्छन् ?
मलाई लाग्छ कि यो तपाईंको लक्ष्यमा निर्भर गर्दछ। केही स्व–प्रकाशित लेखकहरू वास्तवमा धेरै पुस्तकहरू बेच्न र÷ वा धेरै पैसा कमाउन चासो राख्छन्। अरूहरू केवल आफ्नो कथा वा सन्देश संसारभरि पुगोस् भन्ने चाहन्छन्, चाहे जतिसुकै मानिसहरूले यसलाई पढुन्। एक ‘प्रभावकारी’ स्व–प्रकाशित पुस्तकको अर्थ लेखकले आफ्नो लक्ष्य पूरा गर्नु हो, जुन विभिन्न तरिकामा प्राप्त गर्न सकिन्छ।
स्व–प्रकाशित लेखकहरूले आफ्ना पुस्तकहरू प्रकाशित गर्नुअघि ध्यान दिनुपर्ने महŒवपूर्ण कुराहरू के–के हुन् ?
मेरा लागि अनुभवी सम्पादकहरूलाई पुस्तकको समीक्षा गर्न आग्रह गर्नु महŒवपूर्ण कुरा थियो। प्रकाशनको अर्थ धेरै कुरा हुन सक्छ, तर प्रकाशित पुस्तक सधैं व्यावसायिक र पोलिस हुनुपर्छ। साथै, तपाईंका लागि ठूलो संख्यामा पाठक पुग्नु महŒवपूर्ण छ भने पाठकहरूले तपाईंको पुस्तकप्रति चासो राख्ने प्रकाशनहरूका लागि लेख्ने कोसिस गर्नुहोस्। एक पुस्तक एक लामो प्रक्रिया हुन सक्छ र त्यसैले त्यो बीचमा छोटा लेख लेख्ने र प्रकाशन गर्ने काम अर्थपूर्ण हुन्छ।
तपाईं स्व–प्रकाशित लेखकहरूसँग केही कुराहरू सेयर गर्न चाहनुहुन्छ ?
लाग्छ कि सबै लेखकहरूले लेखनको प्रक्रियामा गर्व महसुस गर्नुपर्छ, जसमा ठूलो अनुशासन र साहस चाहिन्छ। (Original link: लेख्ने र प्रकाशन गर्ने काम अर्थपूर्ण हुन्छ | अन्नपूर्ण पोस्ट् (annapurnapost.com))


Leave a Reply