प्रिय कुमार, तिम्रो यादमा

“तपाईंको बेस्ट फ्रेन्ड कुमार अब रहेन“ भक्कानिदै चण्डिका भाइले एकाबिहानै सुनायो जतिबेला म ओछ्यानबाट उठ्न प्रयासरत थिएँ, आङ्ग तन्काउँदै।

त्यो खवर, खवर थिएन मेरा लागि। काहालीलाग्दो, अकल्पनीय, भयानक, बिभत्स, प्रलयकारी गर्जन थियो। ’सब्लाईम’ थियो प्रलयको। क्षणभरमै आफ्नै शरीर परमाणुझैँ बिस्फोटको महशुस भयो। जति कमजोर र नास्वान मानव शरीर छ त्यति नै शक्तिप्रद मानवीय इच्छाशक्ति हुँदोरहेछ । कुन इच्छाशक्तिले हो कुन्नि मैले आफूलाई बटुले र अदम्य शाहसका साथ् विस्ताराबाट उठ्दै चण्डिकालाई प्रश्न गरेँ, “हैन तिमी के भन्दैछौ र म के सुन्दैछु? कतै मलाई तिमीले देखेको सपना त सुनाउँदै छैनौ?“

“दाजु, मेरा हात खुट्टा लागेका छैनन् । कापींरहेका छन्। मैले खवर गरौँ भनेर हो। अहिले म केहि बोल्न सक्दिन।“ चण्डिका भाईले यति भनेर फोन राख्यो। मेरा कानमा सन्नाटाका टिनिन्न घन्टे बजे, त्यसपछि साइरनका। मुटुको धड्कन उछिट्टिएर बाहिर आउलाजस्तो भयो। दिमाख बमझैँ फुट्लाजस्तो भयो।

एकहप्ता अगाडीमात्र थियो कुमार मलाई भेट्न आएको अमेरिकाको जर्जिया राज्यमा र हामी सँगै कारमा गएका थियौं फ्लोरिडा राज्यको मायामी डूल्न । साथमा हाम्रै मित्र बिपुल पनि थिए। त्यो यात्रा जीवनकै सुन्दर यात्रा थियो। मेरो ’बेस्ट फ्रेन्ड’संगको यात्रा। चिल्ला र फराकिला बाटामा कार हुंईक्याउदै, भविस्यको मिठो कल्पना गर्दै र यसरीनै संधै सँगै आत्मिय साथि भएर बाँकी जिन्दगी काट्ने सपना बुन्दै र बाँड्दै हामी अगाडी बढिरहयौं। उ भने अमेरिकाको न्यू ह्याम्प्सायर राज्यमा बस्दै आएको करिब १४ बर्ष भैसकेको थियो र त्योबीचमा उ एउटा सफल ब्यबसायी र दयालु ब्याक्तित्वको रुपमा सबै न्यू ह्याम्प्सायरबासि नेपालीहरू बीच चिनिएको थियो। ’कुमार’ भनेपछि नचिन्ने त्यहाँ कोहि नेपाली थिएन। एउटा गर्भ गर्न लायक उचाई र विरासत बनाएको थियो उसले।

मायामीमा हामीले मज्जा गर्यौं। त्यो मज्जा कुमारकै कारणले सम्भब भएको थियो। एकरातको झन्डै नेपाली रुपयाँ एकलाख पर्ने होटेलमा बस्यौं र त्यहाँबाट हेर्यौं आन्ध्रमहासागर र परसम्म देखिने क्षितिज, बिचमा नुहाउँदैगरेका युवक र युवतीहरूको हुल, सर्फिंग गर्दैगरेका युवाहरू, ठूला ठूला डुङ्गाहरू, मोटरसाईकल तथा हेलिकप्टर राईडमा गुड्दै र उड्दै गरेका पर्यटकहरू, माथि माथि आकासमा उड्दैगरेका बेलुनहरू। हामीले पनि हेलिकप्टर राइड गर्यौं जहाँबाट हामीले देख्यौं बिल गेट्स देखि बियोन्सेसम्मका महंगा घरहरू, आन्ध्र माहासागर बिचमा बनेका कृतिम ’आईल्याण्ड’ त्यसमाथि बनेका महंगा महंगा घरहरू। त्यसपछि हामी मायामी साउथबिच गयौं। मायामी साउथबिच मायामी आउने जो कोहि पनि एकचोटि पुगेकै हुन्छ। त्यहाँ पुगेर बलिवुड तथा हलिउड अभिनेत्री प्रियंका चोप्राले र्यापर पिट्बुलसंग एउटा गितमा छायांकननै गरेकीछन् “आई एम फिलिंग सो एक्जोटिक“। त्यसपछि हामी मायामीको ’बे’ एरियामा केहीबेर टहलियौ। आखिर तिनै थिए मायामीमा आकर्षणका केन्द्रहरू। मायामीको भ्रमण सकिएपछि मैले बिपुल र कुमारलाई एट्लाण्टा एयरपोर्टमा लगेर छोडिदिए। उ न्यू ह्याम्प्सायर तिर गयो। म पनि केहि महिनामा फेरी भेट्ने बाचा गर्दै घरतिर फर्किए।

एक हप्ता पनि भएको थिएन। के दशा आईलाग्यो यो। म भक्कानिए। अचेतझैँ भए।

तर मैले सम्हाले आफूलाई। ल्याप्टप खोलें। डेल्टा एयर्लाइन्सको टिकट काटें। लगाईरहेकै कपडामाथि ’हुड्डी’ पहिरिएँ। झोला बोके र रन्थनिए एट्लाण्टा एयरपोर्टतिर न्यूह्याम्प्सायर जान। एकतर्फीको ८ लेनको बाटो र त्यसमा कुदिरहेका ब्यस्त सवारीहरूको गति जतिनै तिब्रभए पनि मेरो मुटुको गतिको तुलनामा निरर्थक भए ति सबै । हरेक दिन लाग्ने त्यो सहरको जादुमयपन र व्यस्तता सब खोक्रो, मृत र निस्सार लाग्यो। संसारमा सबै भन्दा विसाल भाव नै रहेछ भन्ने लाग्यो। हिजो मेरो भाव विछिप्त नहुँदा तिनै चिजहरू जादुमय थिए मेरालागि आज तिनै अर्थहीन र निरर्थक भए। कति ठूलो हुँदोरहेछ भावको शक्ति ! संसारमा कुन चिज सुन्दर हो वा कुरुप भन्ने त भावले नै पो दिशानिर्देश गर्दोरहेछ।

म प्लेन चढें। प्लेनले धर्ती छोड्यो बोस्टनमा अवतरण नहुन्जेललाई। करिव अढाई घन्टाको फ्लाईट थियो त्यो। हरेकपटक चांडो लाग्ने त्यो यात्रा संधै भन्दा बिस्तारो र असजिलो भयो। प्लेनका पंखेटा हेरेर म केहीबेर टोलाएँ ।

म जस्तै बाउआमाको एक्लोछोरो उ, उसैका भरमा, आसमा र मायामा न थियो उसको परिवार। मेराजस्तै दुईवटा दिदीबहिनी थिए उसकापनि। बाउआमाले भन्दा बढी माया गर्थे उसलाई र भाउजूलाई उसका दिदीबहिनीले। परिवार, आफन्त र साथिभाईकालागि उसले के गरेको थिएन र ! प्राय हरेक हप्ता आफ्नै घरमा एउटा एउटा जमघटको कार्यक्रम राख्थ्यो र साथिभाईहरूको मिलन गराउँथ्यो। सामाजिक सेवामा दान दक्षिणा दिनुपर्यो भने उ आँफै नै अघि सर्थ्यो। उ परिश्रमी थियो पैसा पनि राम्रो कमाउँथ्यो तर यस्तो लाग्थ्यो मानौ उसले दुख गरेर कमाएको भनेको अरुकालागि खर्च गर्न हो। उसले १२ वर्षदेखि अपाङ्गता भएका व्यक्तिको हेरचाहमा जीवन बिताएको थियो। बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म उ निरन्तर आफूलाई ब्यस्थ राखिरहन्थ्यो। उसले अमेरिका आएदेखि के गरेन। उ आफ्नो बिचारमा प्रष्ट थियो। अरुको दुखमा साथ् दिन उ संधै तत्पर हुन्थ्यो। अर्काको प्रगतिमा उ रमाउँथ्यो। अरुलाई सहयोग गरेरपनि ’मैले तिमीलाई चाहे जति सहयोग गर्न सकिन’ भन्थ्यो वा कसैलाई सहयोग गरेर ’मैले उसलाई सहयोग गरेँ’ भनेर कहिल्यै कसैलाई भन्दैनथ्यो। उ त्यस्तै थियो जस्तो एक महान विचारक तथा दार्शनिक फ़ुलरले भन्थे “अरुलाई दिएर बिर्स तर अरुबाट लिएर कहिल्यै नबिर्स। “ आखिर त्यस्तो मेरो मित्रलाई किन र कसरि इश्वरले टपक्क टिपेर लग्यो?

प्लेन अझै अवतरण भइसकेकै थिएन। घरि बादलभित्र हराउँथ्यो। घरि अनकन्टार घना अमेरिकी भूगोलको घनाजंगलमाथि उडीरहन्थ्यो। झ्यालबाट तल हेर्दा ताल र तलैयाहरू देखिन्थे ठाउँ ठाउँमा। थाहै नपाई मेरा आँखाबाट आँसु टिलपिल टिलपिल हुँदै खसिरहे । प्लेन आन्ध्र महासागरको तिरैतिर उँभो लागिरह्यो, मेरा आँसु गालाको तिरैतिरै उँधो लागिरहे ।

केहिछिनमै जहाज बोस्टनमा अवतरण भयो। मैले ट्याक्सी लिए र त्यहाँबाट लागे न्युह्याम्प्सायरतिर । करिव एक घन्टाको बाटो हो त्यो तर करिब पौने ४ बजेको समय भएकोले प्राय ट्राफिक जाम हुने हुँदा झन्डै डेढ घण्टा लाग्यो त्यहाँ पुग्न।

कुमारको घरमा मान्छेको आउने जाने भींड रहेछ। ’म सम्हालिनु पर्छ र उनीहरूलाई सम्झाउनुपर्छ’ भन्दै मनमनै अड्डी कसे। आमा रुँदै गरेको दृश्य र कुमारको पत्नी सिमा (अर्थात् भाउजू। म ’भाउजू’ भन्छु) भक्कानिदै गरेको दृश्य देखेपछि त्यसको अगाडी मेरो के लाग्छ र ? मेरो मुटु नै फुत्त बाहिर आउला जस्तो भयो र थालें अनायासै भक्कानिदै रुन।

“लग्यो बाबु लग्यो, दैबले लग्यो तिम्रो साथीलाई, मेरो छोरालाई, अब म कसरि बाँच्ने?“ आमाले मलाई छाँद हाल्दै रुन थाल्नुभयो।

शब्दबिहिन निरुत्तर भएर सिमा भ्क्कानिन थाल्नुभयो। त्यहीं अगाडी थिए कुमारका दुई अबोध छोराहरू आराभ र आभान (करिब ८ र २ बर्षका) रुँदै, आमा रोएको देखेर। त्यो दृश्य सोफोकल्सको दुखान्त नाटकझैँ लाग्थ्यो। “भाउजू तपाईं यती गर्दिनुहोस, मुटु बलियो बनाईदिनुहोस। यी छोराहरूलाई हेरेर बाँच्नुहोस्“ मैले यति भन्न सके हिकहिक गर्दै ।

कार दुर्घटनामा परेर कुमारले यो भौतिक संसार छोडिसकेका रहेछन।

कुमार मेरो ६ कक्षा पढ्दा देखिको साथि थियो। चुंगी, डन्डीबियो, कबड्डी, भाले जुदाई हामीले संगसंगै खेलियौ। हामीले कहिल्यै झगडा गरेनौं। कहिल्यै एकअर्काको मन दुखाएनौ। उ अमेरिका आउनेबित्तिकै मलाई पनि आउन झकझक्याइरहयो, उत्साहित गरिरह्यो। मेरो प्रगति र खुशीमा रमाईरहयो। मलाई चाहिने हरेक आर्थिक, नैतिक, मानसिक, मनोबैज्ञानिक सहयोगमा गर्भका साथ् अगाडी उभिरह्यो। त्यति गर्दागर्दै पनि उ भनिरहन्थ्यो ’तिमीलाई मैले केहि गर्न सकिन। तिमि मेरो वरिपरि नै रहेर बस्न पाए कति जाति हुन्थ्यो। तिम्रो खुशी नै मेरो खुशी हो। “
मसंग केहि थिएन उसलाई दिन, म बाट केहि थिएन उसले लिन सक्ने तरपनि मलाई दिने उसको निरन्तर सहयोग र त्यसबाट उसले पाउने त्यो आनन्द कति निस्वार्थ थियो। के म त्यस्तो साथि फेरी पाउन सकौंला र ? उमेरले भर्खर ४२ बर्षको जवान मेरो साथि कुमार आज मसँगछैन, न अब उ कहिल्यै हुनेछ ! यद्दपि उ मसंग बाचुन्जेल हुनेछ सम्झनामा, मनमा, मस्तिष्कमा, सम्बेदनामा।

प्रिय कुमार, हाम्रा सपना र योजनाहरु अब यादको खुत्रुकेमा मात्र रहनेछन। मैले तिमीलाई केहि गर्ननसकेपनि म तिमीजस्तो सहयोगी, दयालु, र निस्वार्थ हुने प्रयासगर्नेछु साथीहरू माझ । एउटा साधारण मानिस भएर बाँच्ने प्रयास गर्नेछु। यो स्वार्थि दुनियाँमा म तिमीजस्तो मानिस त अवस्य पाउने छैन तर तिम्रो सम्झना लिएर तिमीजस्तो भएर बाँच्ने प्रयास गर्नेछु। एउटा अर्थपूर्ण मानिसको असामयिक अवसानले पक्कै पनि करोडौं टुक्रा भएको मेरो मुटुले सकेसम्म निस्वार्थ र स्वाबलम्बी हुने प्रयास गर्नेछ।

अब हामी सबैले हाम्रो भित्री आँखाले तिमीलाई देखिरहनेछौं, हेरिरहनेछौं। कल्पना र सम्झनामा तिमीसंग बोलिरहनेछौं ।

Leave a Reply