
समीक्षक
उज्यालो खसेपछि चराहरू भुर्र उडछन् र आफ्नै दैनिकीमा लाग्छन् । सधैँ वर्तमानको आवश्यकतालाई पूरा गर्न वनपाखा चाहार्छन्, भोलिको कुनै चिन्ता लिँदैन । विल्कुलै स्वतन्त्र बाँचिरहेका हुन्छन्, तर मान्छे भने आजकोभन्दा पनि भोलिको चिन्तामा बाँचेको हुन्छ । त्यसैले दिन–रात सेकेन्ड सेकेन्डमा सोचिरहन्छ र गाउँ छाडेर जिल्ला सदरमुकाम पुग्छ । त्यहाँ चित्त नबुझेपछि ठूला सहर र त्यहाँबाट फेरि विदेश पलायन हुने गरेको छ । यस्ता कल्पना, सपनाले नेपाली युवालाई रोगी बनाइसकेको अवस्था छ । उज्ज्वल भविष्यको खोजीमा विदेश पुगेका एक नेपाली युवाको मार्मिक कथावस्तु बुनेर स्वप्नभूमिमा सजाइएको छ । जो विदेश जाने विद्यार्थीको लागि ज्ञानप्रद खुराक बन्न सक्छ ।
आफ्नो देश बाहिर कहिल्यै नगएको दिपकले अमेरिकाको समृद्घि, रहनसहन र परिवेशभित्र एकैचोटि होमिनु पर्दा उसको मथिङ्गल नघुमेको होइन तर आफूलाई संयमित बनाउँदै लगेर देशप्रतिको अगाध मायामा सकारात्मक त्याग गरेको देखिन्छ । रुम पार्टनर लुकास र भेनिसाको दिनचर्यासँग घुलमिल हुन र पचाउन सुरुका दिनहरूमा निक्कै कठिन भए पनि ठाउँ अनुसार आफूलाई जबरजस्ती ढाल्दै लानु उसको बाध्यता थियो । कतिपय प्रसङ्गमा दिपकले सागरमाथाको कुरा उठाएर आफू नेपाली हुनुमा गर्वको महसुस गरेको पाइन्छ । विदेशी साथीसँगै एउटै फ्ल्याटमा बस्न थालेपछि बैठक कोठाको एक साइडमा पुराना सामानसँगै सुत्नु परेको र मन नपर्ने पिज्जाले पेट भर्नु पर्दा जिब्रोले नेपाली स्वाद खोजेसँगै आमालाई बेस्सरी सम्झेको कुराले कताकता मन भकानिन्छ । सँगै बस्ने लुकास र भेनिसाले बिहे नै नगरी सबै काम कुरो गर्ने गरेकोबाट गाउँघरमा प्रयोग हुने चुइँकिने खाटको याद दिलाउँछ । त्यहाँको कलेजले आई–ट्वान्टी अनुमति नदिएपछि ठूलो धोका हुनुको कारण नेपालमा सबै कागजपत्र नक्कली बनाउने प्रथाको भन्डाफोर गरेको छ । यसबाट विदेशिने नेपाली विद्यार्थीलाई राम्रो शिक्षा दिएको देखिन्छ । नेपालमा हुने भ्रष्टाचार, बेतिथि र मिलेमतोको जालोले गर्दा विदेशमा पुगेका नेपालीको हरिबिजोग हुने कुरालाई लेखकले मिहिन ढङ्गले उठाएर आख्यानलाई पठनीय बनाएको छ ।
सुरुका दिनहरूमा दिपकलाई कलेजको वातावरण बुझ्न अनि त्यहाँको पढाइ, सिकाई र भाषिक लबजमा पोख्त हुन र साथीहरू बनाउन निक्कै कठिन भएथ्यो । नेपालमा बाबु व्यापारी आमा क्षिशिका भनी फर्जी कागज बनाएकाले अमेरिकामा सोसल सेक्युरिटी नभएपछि भन्नेबित्तिक्कै काम पाएन । लुकासमार्फत नेपाली गणेशसँग भेट भएपछि उसले नेपालीभन्दा पनि अमेरिकन जीवनशैलीको बख्यान गरेको सुन्दा दिपकलाई नमज्जा लाग्नु स्वाभाविकै थियो । नेपालमा डिग्री गरी मास्टरी पेशा गरेको दिपकले अमेरिकामा भाँडा माझ्ने र पोछा लगाउने काम बङ्गालीको बेगल स्टोरमा पायो, तर दिर्घकालीन भएन । तल्लो स्तरको काम गर्नुपर्दा आफू बाहुन हुनुको अर्थलाई दलित नेता भीमराव अम्बेडकरको भनाईलाई सम्झेर स्वीकारेको उल्लेख छ । जीवनमा कहिल्यै नगरेको काम गर्दाको पीडा र दर्दनाक प्रस्तुतिले देश काल परिस्थिति अनुकूलको अनुभवबाट नयाँ पुस्ताको विदेश पढ्ने मोह र परिवारलाई सुखी राख्ने स्वैरकल्पनालाई साहित्यमार्फत पस्केको छ । दार्शनिक, कवि, लेखक या सफलता चुमेका व्यक्तिहरूको भनाईहरू टिपेर लेखकले स्वप्नभूमिको कथाशृङ्खलालाई विस्तार गर्दै लगेकोले पाठकलाई तानिरहन्छ ।
सकुलेन्ट स्यान्डबिचमा नेपाली चेली रिताले दिपकलाई हरेक काम कुरो पारिवारिक शैलीमा सिकाएबाट परदेशमा एउटा नेपालीले अर्कोलाई गर्नु पर्ने साथ सहयोगले नेपाली नारी पात्रको सकारात्मक पाटो प्रसङ्सायोग्य लाग्यो । दिपकले बेलाबेला नेपालको संस्कार, संस्कृति, व्यवहार, जीवनशैली र काम, चाडपर्वबारे अमेरिकासँग तुलना गरेर नेपालीत्वको खोजी गर्दै फोनमा दसैंबारे बुबाआमासँग गरेको कुराकानीले हृदय छुन्छ । कलेजको दैनिकीसँगै दिपक र मलिसा एकअर्कासँग नजिक हुँदै गएर प्रेममा परिणत भएपछि चेस खेल्दै हिन्दु संस्कार र आइरिस क्याथोलिक धर्मबारे मन्थन गरेर साहित्यकार आचार्यले महत्वपूर्ण कुरा उठाएको देखिन्छ । सबै धर्मको अन्तिम सार एउटै हो भन्ने निष्कर्षसमेत निकालेको छ । जहाँको, जुनसकै भूगोलको भए पनि मानव जीवन एउटै हो, तर बाँच्ने तौरतरिकामा केही फरक होला । अमेरिकी समाजमा लिभिङ टुगेदरमा बस्ने र बिहेपूर्व बच्चा जन्माउने अनि यौनका कुरादेखि मलिसा र दिपकको आकर्षण हुँदा पनि शारीरिक सम्बन्ध नराखेर आफूलाई भद्र, इमान्दार सावित गर्न खोजेजस्तो लाग्छ । एउटा नेपालीले अन्य देशको नागरिकसँग प्रेम गर्दा धर्म के बाधक बन्न सक्छ ? स्वप्नभूमिमा भविष्यको सुन्दर सपना मात्र होइन, स्वप्निल प्रेमले उठाएका प्रश्नहरू पनि छन् ।

बिरामी पर्दा साथ सहयोगको अपेक्षा गर्नु । आमाबाउको वचन र आफ्नो दायित्व पूरा गर्नु । मन मस्तिष्कले एकैचोटी सोच्छ ‘आमाबाबुको खुसीभन्दा पढाइ ठूलो होइन’ त्यसैले अनेक गरेर नेपालमा उपचार खर्च पठाएर कर्तव्य पूरा गराएको छ साहित्यकारले । कामको सिलसिलामा दिपक पात्रलाई एकदमै कमजोर र केही नजान्ने र पोछा लगाउन पनि धेरै दिनसम्म नजानेको बनाएर लेखकले अलि कन्चुसाई गरेजस्तो लाग्यो । आखिरमा कामबाट निकालेको प्रसङ्गले खल्लो बनाउँछ भने डेभिडसँग बेलुन जनावर बिक्री गर्दै हिँडेको मिठो अनुभव पनि छ । उता कलेजले आधा फी घटाई दिएर दिपकलाई राहतको खुसी दिएको देखिन्छ । त्यसपछि पाँच महिनासम्म के खायो के ग¥यो दिपकले । नेपाली पाटीमा भए गरेका सबै नेपालीले आफ्नो देश बिसाउने हर्कत वा मनोरञ्जन गरे पनि नेपालीपन खासै देखिँदैन । साथीहरूसँग अपार्टमेन्टमा कहिले कोसँग त कहिले चिनियाँ डि र डेभिडसँग बस्दाको अनुभव बाँडेर पढ्न जाने विद्यार्थीलाई सतर्क गराएको छ । दिपक र मलिसाको सान्निध्य जति चाँडो भएको थियो पछि सामान्य तरिकाले टाढा भएपछि कवितामार्फत बेलाबेला जोडिएको देखिन्छ । मलिसासँग दुई वर्षे माया केवल कवितात्मक प्रेममा सीमित हुन थालेपछि अर्कै मोड लिएको चाखलाग्दो प्रसङ्गहरू छन् ।
अमेरिकामा पढ्न गएका नेपाली विद्यार्थीले भोग्नुपरेका अनेकौं पीडा र अभावका खाल्डोहरू पुर्दै प्रेम प्रसङ्गलाई जोडेको छ स्वप्नभूमिमा । जुन प्रेमले पढाइको अन्त्यतिर बाटो बिराएबाट कथानक प्रस्तुतिले सुरुवाती खण्डको मेलो टिपेको छ । जसको कथानक उठानबाट दिपक र मलिसाबारे कौतूहल जगाउँछ र अरू पेजहरू पढौं लाग्छ । उपन्यासको मध्य खण्डमा सबै कथावस्तु एटलान्टादेखि जर्जिया राज्यको सेरोफेरोभित्र घुमिरहन्छ । त्यहाँ गरिएको सानोतिनो टुक्रे जागिर, अपार्टमेन्टको बसाइ, साथीहरूको व्यवहार, विश्वविद्यालय आदि समिटिए पनि कलेजको पढाइ र सिस्टमबारे अलि कम जानकारी आएको हो कि भन्ने लाग्छ । क्लासमा कविता लेख्ने र सुन्नेमात्र उल्लेख नगरेर अन्य गतिविधिलाई उठाउँदा अझ फराकिलो हुने थियो कि !
दीक्षान्त समारोह शीर्षकलाई सुरुमै राखेर पाठकको मन जित्ने र जिज्ञासु बनाउने कोसिस गरिएको छ । यथार्थपरक लाग्ने कथानक प्रस्तुतिमा भाषाशैलीको सरलताले पढ्न र बुझ्न सहज छ । लेखनको अन्तिम खण्डमा कलेज छाड्ने दिन दीक्षान्त समारोहमा मलिसालाई नदेखेपछिको छट्पटीले असफल प्रेमबाट निरास होइन, नयाँ जोस जाँगर बोकेर मूलपात्र दिपक आफ्नै देश फर्किने निर्णय लिँदै, ‘अहँ म यो अमेरिका बस्न सक्दिनँ । मेरो जन्मभूमि नै सपनाको देश हो । म जति सक्छु नेपालमै गएर गर्छु ।’ अमेरिकाजस्तो मुलुकमा आफूले हासिल गरेको ज्ञानगुणको कुराभन्दा पनि आफ्नै देशलाई स्वप्नभूमि सम्झेर फर्केको देखिन्छ । आख्यानले उठाएका तमाम घटना परिघटनाहरू प्रशासन तथा नीति विषयमा विद्यावारिधि गरेका डा. तुलसी आचार्यको आफ्नै भोगाई हो कि जस्तो लाग्छ । देशप्रति समर्पित यो सन्देशमुलक उपन्यास विदेश गएर पढ्ने विद्यार्थीको लागि अति उपयोगी हुने छ ।
साभार: सौर्य दैनिक. Here is the link: स्वप्नभूमिको उब्जाबाली मातृभूमिमा | SouryaOnline


Leave a Reply