म यो देशको पाण्डुलिपि लिएर कुदिरहेछु
छाप्न त्यसभित्रका कथाहरू,
मै हुँ भन्ने नतमस्तक अखबारले नछापे पछि।
गह्रुङ्गो मेरो पाण्डुलिपिमा
न्यायाधिसको कथा छ
उसले आफ्नै श्रीमतीमाथि हिंसा गरेको।
निर्मलाको बाउको कथा छ
बलात्कृत छोरीको न्यायको खोजीमा
आफै पागल भएको ।
नेत्रेको कथा छ
बन्द बाकसमा नेपाल फिरेको जो
ऋण तिर्न अरब छिरेको थियो ।
मेरो आफ्नै कथा छ
मन भुलाउन सराब पिएको,
अनि निन्द्रा नलागेपछि मेलोटोनिन खाएको ।
तर अपसोच कसैले छापेन ।
लेखकलाई चुसेर
अशुद्ध व्याकरण सहितको किताब छाप्ने
प्रकाशकले किन छाप्थ्यो
मेरो देशको विशुद्ध नियतिको कथा ?
करोडौँको ज्याकेट भिराउनेको विरुद्ध
किन गर्थ्यो अखबारले खोजमूलक पत्रकारिता,
र छाप्थ्यो आफ्नो अखबारमा यो देशको पाण्डुलिपि?
यद्यपि म यो देशको पाण्डुलिपि लिएर कुदिरहेछु
छाप्न त्यसभित्रका कथाहरू।



Leave a Reply