अमेरिका जाने विद्यार्थीहरूको कथा भन्ने स्वप्नभूमि

मरुभूमिमा बस्ने र हरियाली नदेखेको मान्छेलाई सुतेको बेला थाहै नदिई जहाजमा हालेर वसन्तमा ढोरपाटन उपत्यकामा लगेर छोडिदिने हो भने त्यो मान्छेले के सोच्छ होला ? यस्तैयस्तै स्वप्नभूमिको मरुभूमिमा पानीलाई गन्तव्य स्थान बनाउँदै हिँडेको जलदेशको व्यक्तिको कहानी हो– स्वप्नभूमि ।

मुख्यतः अध्ययनको सिलसिलामा अमेरिका पुग्ने विद्यार्थीहरूको कथा हो ‘स्वप्नभूमि’, जसको रचना डा. तुलसी आचार्यले गरेका हुन् । ‘आँखा’ शब्दबाट सुरुवात आख्यानको अन्त्य भने ‘छोडेर’ मा भएको छ । यी दुई शब्दहरूलाई मिलाउँदा आँखा छोडेर अर्थात् दृष्टिकोण छोडेर भन्ने बुझ्न सकिन्छ । स्वदेश तथा विदेशको रहनसहन, धर्म, संस्कार, संस्कृति, चालचलन, मूल्य, मान्यता, प्रेम र सङ्घर्षको तुलनात्मक स्थितिलाई उठाएको छ स्वप्नभूमिले । यसको अध्ययनपछि स्वप्नभूमिको वास्तविकताबारे पाठकलाई थाहा हुनेछ ।  

भिक्टोरिया वाटर लिलीको पातमाथि चढेर जसरी हामी सजिलै पानीमा तैरिन सक्छौँ, त्यसरी नै यदि हामी स्वप्नभूमिको नाउमा यात्रा गर्दा पक्कै पनि सहज हुन सक्छ परदेशी भूमिमा । विशेष गरेर प्लस टुपछि दैनिक अमेरिका पुग्नेहरूलाई दीपकलाई मूल पात्रको रूपमा चित्रित गरिएको छ । यस आख्यानमा उनले नामको अगाडि डा. झुण्ड्याउन गरेको नेपालदेखि अमेरिकासम्मको अध्ययन र सङ्घर्षको यात्रा वृत्तान्त छ ।  

अन्तर्मनको द्वन्द्वलाई विभिन्न पाटाहरू- मजदुर र मालिक, प्रेम र विछोड, युनिभर्सिटी र स्टुडेन्ट- लाई द्वन्द्वको रूपमा प्रस्तुत गरिएको छ स्वप्नभूमिमा ।

सन् २००८ जुलाई ८ तारिखमा दीपक संसारकै व्यस्तमध्येको एट्लान्टा एयरपोर्टमा पुग्छ । साथीहरू भनिसा र लुकास उसलाई लिन आउँछन् । उनीहरू सँगै अपार्टमेन्टमा बस्छन् ।

दीपक युनिभर्सिटी जान्छ, फिको जुगाड कसरी गर्ने भन्ने चिन्ता हुन्छ । प्राध्यापकसँग जान्छ, उनीहरूको जवाफले ऊ अक्क न बक्क हुन्छ । मालिसासँग भेट हुन्छ । भौँतारिन्छ काम खोज्न । तनावमा बिताउँछ समय । कलेजमा एक जना डीभी परेर गएको पात्र गणेशसँग भेट हुन्छ । उसले दीपकलाई सन्नी बेगल स्टोरमा काम लगाइदिन्छ । मालिसा र उसको प्रेम सम्बन्ध हुन्छ । उसले ग्र्याजुएसन गर्छ । पछि ग्र्याजुएसनको अघिल्लो दिन मालिसाको म्यासेजले उनीहरूको सम्बन्ध टुंगिन्छ र दीपक नेपाल फर्किन्छ । कथा यति मात्रै हो तर यसका कुट धर्म भने बेजोड छन् ।   

 एयरपोर्टदेखि अपार्टमेन्ट

भारतसम्म पनि नगएको दीपक छक्क त त्यतिबेला पर्‍यो, जतिबेला भन्सार अफिसरले उसलाई सोधे– ‘ह्वाट द नेम अफ योर युनिभर्सिटी ?’ किनभने दीपकभन्दा कठोर मान्छे उसले देखेको रहेनछ विगतमा । यसबाट बुझ्न सकिन्छ कि नेपाली नागरिकलाई अमेरिकाले गर्ने व्यवहार कस्तो हुन्छ भनेर । भाषा राम्रोसँग नबुझ्नु नै उसको मनमा जन्माएको डरले निस्किएको पसिना सेलाउन उसले सम्झिन्छ वीर गोर्खालीलाई ।  

यात्रामा लुकास र भनिसाले गाडीभित्र गरेको चुम्बन उसलाई पचाउन गाह्रो हुन्छ । पिज्जा, चाउचाउ मन नपरेपछि उसले भन्छ, ‘अर्थतन्त्रले भरिपूर्ण अमेरिका स्वादमा भने गरिब रहेछ ।’ अनि सम्झिन्छ आमाले बनाएका परिकारहरू ।

हरेक आप्रवासीका लागि या त अमेरिका स्वप्नभूमि बन्छ, या त आफू रमाउने स्थान । दीपकको भने नेपाल स्वप्नभूमि भएको कुरा उसले सम्झिने देवकोटाको -के नेपाल सानो छ ?- निबन्ध ।

बिरामी पर्दा भनिसाले गरेको सहयोगमा उसले मानवता देख्छ, अनि उनीहरूले चुकुल लगाएर मोरमोर भन्दै चिच्याउँदा भने उसले आफ्नी पहिलेकी प्रेमिका सम्झिन्छ । जन्मदिनमा घरका बुबाआमा, बहिनीलाई सम्झिन्छ । यसबाट उसको मन भने नेपालमै दौडिरहेको छ भनेर सजिलै बुझ्न सकिन्छ ।  

कक्षादेखि कामसम्म

२१ वर्षमा स्नातकोत्तर सकेको दीपकले ब्ल्याकबोर्डको अर्थ पनि राम्रोसँग नबुझ्नुले उसको मनोविज्ञानमा ठेस लाग्छ, प्रोफेसर र साथीहरूका अगाडि । तर, पछि उसले गृहकार्यमा भने आफ्नी प्रेमिका मालिसाबारे कविता लेख्छ भने मालिसाले दीपकबारे । यसबाट उसको घुलमिल गर्ने शैली विकसित भएको पाइन्छ । परिस्थितिले ऊ स्वप्नभूमिको हावापानीमा घुलमिल हुन्छ ।  

आफ्नो प्रोफेसरलाई कामका लागि निवेदन गर्दा प्राध्यापकको ‘मैले तिमीलाई केही गर्न सक्दिनँ, यदि फि तिर्न सक्दैनौ भने नेपाल फर्कंदा हुन्छ’ भन्ने बोलीले उसको गाला अवरुद्ध हुनु र आँखा रसाउने कुरालाई विदेशी भूमिमा चाहिने सीप सिक्नुपर्छ भन्ने कुराको चित्रण गरेको छ ।  

सोसियल सेक्युरिटी नम्बर नहुँदा पाएको दुःख । ६ डलर प्रतिघण्टा सन्नी बेगल स्टोरमा काममा लगाइदिने साथी गणेशको गुन, भनिसाले गरेको सहयोग उसले कहिल्यै भुल्न सक्दैन । साथै, उक्त कम्पनीका म्यानेजर विकासले दीपक बिरामी भएर ढल्दा घर पुर्‍याई पछि काममा नबोलाएको पनि सम्झिरहन्छ ।  

झाडु लगाउने, भाँडा माझ्ने, बर्गर बनाउने कामले उसलाई आफ्ना सपनातर्फ डोर्‍याए पनि ऊ हीनताबोधको भने सिकार भइरहन्छ ।  

सपनादेखि संयोगसम्म

५०औ‍ँ पृष्ठमा दीपकले दिएको गुलाबको फूल सुरक्षित राख्नु, एकअर्काबारेका रोमान्टिक गफ, युनिभर्सिटीका रमाइला गफ, चेस, कफी, घरका बुबाआमासँग दीपकलाई भेटाउनुलाई सपनाको शहरमा दीपक र मालिसालाई प्रेमको प्रगाढताको प्रतीकको रूपमा मान्न सकिन्छ ।   

तर, त्यति हुँदाहुँदै पनि एक्कासि मालिसाले दीपकलाई चिट्ठी पठाएर सम्बन्ध टुङ्गिने प्रक्रियालाई भने संयोग नै मान्नुपर्छ । यसले दीपकलाई स्वप्नभूमितिर डोर्‍याइरहेको रूपमा लिन सकिन्छ भने आमालाई उपचारका लागि २ लाख पठाउनुलाई उसको सपनाको बाछिटाका रूपमा बुझ्न सकिन्छ ।

प्रेमको शक्ति

काला जातिका मान्छेले उसलाई लुट्न खोज्दा उसले उनीहरूलाई लात्तीले अण्डकोषमा हानेर कोठामा भागेर आएपछि मालिसासँग भनेको थियो, ‘आज म तिम्रो प्रेमले बचे ।’ यसबाट उसको प्रेमप्रतिको विश्वास बुझ्न सकिन्छ ।

धर्म र संस्कार 

यस आख्यानमा हाम्रो धर्म कत्तिको विशाल छ भन्ने कुरा बुझ्न सकिन्छ । मालिसाले चिट्ठीमा आफू क्याथोलिक भए पनि दीपकको धर्मप्रति उदार भएको उल्लेख गरेकी थिइन् । सम्बन्धलाई आफ्नो धर्म संस्कारले निर्देशित गर्ने भन्दै टुंग्याएको प्रेमलाई रहस्यमय रूपमा प्रस्तुत गरिएको छ ।

स्वप्नभूमि

हरेक आप्रवासीका लागि या त अमेरिका स्वप्नभूमि बन्छ, या त आफू रमाउने स्थान । दीपकको भने नेपाल स्वप्नभूमि भएको कुरा उसले सम्झिने देवकोटाको -के नेपाल सानो छ ?- निबन्ध, अरुणा लामाका गीतहरू, सगरमाथा, खोला, वनजङ्गल, संस्कार, धर्म, भाषा, आफन्तहरूले गर्ने व्यवहारको स्मृतिबाट बुझ्न सकिन्छ ।

प्रकाशक : शिखा बुक्स
पृष्ठ : १९५
मूल्य : रू. ४२५

Published in Shilapatra Magh 14, 2079 BS. here.

Leave a Reply