मृत्यु: अभिशाप कि आशीर्वाद ?

केही समयपहिले मेरी सासु आमाको मृत्यु भयो । डाक्टरकोमा पुर्‍याउन पनि नपाउँदै । देख्नेले भने – “बाटामा हिँड्दै गर्दा थचक्क बस्नु भो त्यसपछि ढल्नु भो” । डाक्टरले अड्कल गरे उहाँलाई ‘हार्ट अट्ट्याक’ भयो ।  उहाँ भर्खर ५४ वर्षकी हुनुहुन्थ्यो । आमाको खबर सुनेपछि मेरी पत्नी छाती पिटी पिटी रुन थालिन् । आँगनमा राखेको आमाको लासमा मुन्टो गाडिन् र भनिन् – “म टुहुरी भएँ, अब म मर्छु ।” कसैले सम्झाउन सकेनन् उनलाई । त्यहाँ भेला भएकाहरू प्रायः सबैका आँखामा आँसुको भेल बगिरहेको थियो त्यो कारुणिक र भावविह्वल दृश्य देखेर । म पनि  आँसु पुछ्दै अलप भए त्यहाँबाट आफ्नै चित्त बुझाउन ।

”सारालाई रुवाएर आउनुपर्ने मृत्युले हाम्रो जीवनमा के महत्त्व राख्छ जन्म जसरी मृत्यु आउँदैन भने?’ मैले सोचेँ ।

मेरी सासु आमाले कसैको मन दुखाइनन् । दुई छोरीकी आमा उनले हरेक समय सन्तानको सुखको भन्दा अरु सपनै देखिनन् । हरेक दिन कि ‘सुगर’का रोगी पतिको हेरचाहमा आफूलाई व्यस्त राखिन् कि १/२ वर्षका नातिनातिनाको हेरचाहमा । दुख्दा पनि ऐया भनिनन् र किनभने उनी कसैलाई दुःख नहोस् भन्ने ठान्थिन् । आफूभित्रको दुःख आफैँसँग राखिन र आँफूलाई सँधैभर खुसी देखाइरहिन् । “मेरी आमाले धेरै दुखः गरिन् अब खुसीका दिन बल्ल आउँदैछन्,” हरेक पल मेरी पत्नी मलाई सुनाउँथिन् – “तिमीजस्तो ज्वाइँ पाएर मेरी आमा मख्ख हुनुहुन्छ ।” 

सासु आमाको मृत्युमा धेरैले भने – “राम्रो मरण भयो।” 

कतिले भने – “भाग्यमानी रहिछिन्, ऐया पनि नभनी बितिन् ।” 

कतिपयले भने – “बिचरी उमेर नपुगीकनै मरिन्, सुखका  दिन छोराछोरीसँग बिताउन यिनलाई जुरेको रहेनछ।”
म अमेरिकाबाट आएको भर्खर दुई दिन भएको थियो । म एक महिनाको क्रिस्मस बिदा लिएर नेपाल आएको थिएँ । बिदाको समय छोरी र पत्नीसँग बिताउन । मैले अमेरिकाको विश्वविद्यलयमा भर्खरै पाएको पढाउने जागिरको खुसी परिवारसँग साँट्न र एक वर्ष पुग्न लागेकी हाम्री छोरीको जन्मदिन पनि मनाउन म धेरै ‘एक्साइटेड’ थिएँ । मेरी पत्नीले एउटा कागजमा मेरो एक महिनाको नेपाल बसाइमा के के गर्ने, कहाँ काहाँ जाने भनेर सूची तयार पारिसकेकी थिइन् । पहिलो नम्बरमा मेरा बिरामी ससुरा बाको उपचार गराउने, त्यसपछि छोरीको जन्मदिन मनाउने र छोरीलाई लिएर बूढाबुढी चितवन, झापा, पोखराका महत्त्वपूर्ण ठाउँ घुम्ने र समय रहे बाआमालाई पनि एक दुई ठाउँ घुमाउने । फेसबुकको भिडियो कलमा यिनै कुरा गर्दै हामी रोमाञ्चित भइराखेको थियौँ । म एक महिने बिदामा नेपाल आउने बेलासम्म । काठमाडौं एयरपोर्टमा मलाई लिन मेरी पत्नी, छोरी र मेरी आमा आएका थिए । त्यसको दुई दिनपछि त मेरी सासु आमाको मृत्युको खबर आइहाल्यो । 

त्यो दिन अलिक बढी चिसो थियो काठमाडौंको मौसम । सिरकबाट बाहिर आउने मन थिएन। एक वर्ष पुग्न एक सातामात्र बाँकी रहेकी हाम्री छोरीको जन्मदिन कसरी मनाउने भनेर हामी सोच्दै थियौँ । छोरी ओछ्यानमा उठी र मैले उसलाई अँगालो मार्दै गरेको एउटा तस्बिर खिचिदिन पत्नीलाई भने । उनले खिचिदिइन् र तुरुन्तै मैले त्यो तस्बिर फेसबुकमा अपलोड गरेँ  र लेखेँ – “मेरी छोरी ओछ्छ्यानबाट उठ्नेबित्तिकै पहिलो काम यसरी बाबासँग तस्बिर खिचाउन चाहन्छिन् । “

एक्कासि मेरी पत्नी डाँको छोडेर रुन थालिन् – ” आमालाई के भो लौन नि, पोखरा हस्पिटलमा हुनहुन्छ , भान्दाइले मलाई बोलाउनु भो चाँडो आइज भनेर, केही नभई त बोलाउनु हुन्न थियो ।” उनी त्यहीँ बिलौना गर्न लागिन् हातमा फोन लिएर  ।

“उपचार हुँदैहोला तिमी किन आत्तिएको, आफूलाई समाल” – मैले थुम्थुमाउन खोजे । तर मेरो केही लागेन । रात्ति सुत्ता लगाएकै कपडा माथि एकसरो कपडा लाएर जुत्तासमेत लाउन नपाई पत्नी र म छोरीलाई बोकेर एयरपोर्टतिर लाग्यौँ ट्याक्सीमा । भावविह्वल भएको देखेर होला तुरुन्तै एयरपोर्टमा पनि टिकट मिलिहाल्यो । र हामी खबर आएको एक घन्टाभित्रमै पोखरा एयरपोर्ट पुग्यौँ । उनले भनिरहिन् – “बूढो मेरी आमालाई केही भएको छैन नि ?  केही भो भने म कसरी बाँच्नु ? म मर्छु ।”

“आशा गरौँ सबै ठीक छ । त्यहाँ नहुने भए हेलिकप्टरमा काठमाडौँ ल्याउँला । म त्यसको जिम्मा लिन्छु । म केही हुन दिन्न । प्लिज धैर्य गर ।” मैले उनका आँसु पुछ्दै भने । एक हातमा उनले छोरी बोकिरहेकै थिइन् भने मैले एउटा झोला र सानो लगेज जसमा मैले कच्याक कुचुक पारेर छोरीका लुगा हालेको थिएँ । फेरि एकैछिनमा फोन आयो सासु आमा हस्पिटलमा हुनुहुन्न – “घरै आउनुहोला ।”

त्यो सुन्नेबित्तिकै मेरी पत्नी मूर्छा परिन् । उनले सोचिन् आमा बितिसकिन् तर आफ्ना आँखाले नदेखुन्जेल उनी कसरी पत्याउन सक्थिन् ? हिजो रातिमात्र ओठभरि हाँसो राखेर उनीसँग बोलेको,  मसँग बोलेको । “ल ज्वाइँ छिटो आउनु भेटम्” सासु आमाले मलाई भनेको सम्झेँ मैले पनि । फेरि त्यस दिन चुनाउ रहेछ पोखरामा जसको कारण गाडी नचलेको रहेछ । 

“मलाई छिटो मेरी आमा भए ठाउँ लग्देऊ । म बाँच्न सक्दिन ।” उनी त्यहीँ आर्तनाद गर्न लागिन् । एक वर्ष पुग्न लागेकी छोरी पनि त्यो दृश्य देखेर रुन थाली । मेरा हात खुट्टा पनि काम्न थाले । तर, मैले सोचेँ म सम्हालिनु पर्छ । मैले छोरी र ब्याग दुवै लिए । पत्नीलाई पानी खुवाएँ । मेरी पत्नीले चिनेको कोही पत्रकार साथी गाडी लिएर टुप्लुक्क त्यहाँ आइपुगे र हामीलाई मेरो ससुरालीतिर लगे । हामी दुवैले अनुमान गरिसकेका थियौँ आमा बितिसकिन् तर आशा भने मारेका थिएनौ ।

त्यहाँ पुग्नेबित्तिकै घरअगाडि आँगनमा मान्छेको ठूलो  भिड लागेको देखियो । रुवाबासी चलिरहेको थियो। त्यो दृश्य देखेपछि मेरी पत्नीले आफूलाई सम्हाल्न सकिनन् । हातबाट छोरीलाई कसैले लियो । कोही आएर उनलाई समाएर आमाको लास भए ठाउँ लगे र उनी त्यहाँ लासमा छाँद हाली विलाप गर्न लागिन् । मैले त्यो दृश्य हेर्न सकिन र कतै कुनामा गएर आँसु पुछिरहेँ । 

उनको बिलौना मैले सुनिरहेँ – “आमा, तिमी आउन ! आउन तिमी, आमा ! म टुहुरो भँए। अब मेरो को छ यो संसारमा ? आमा तिमी आउन “

उनी यस्तरी चिच्याइन् कि मानौ मृत्युसमेत डराउनेछ । यस्तरी रोइन् कि त्यो भेलमा ठूलो भिड नै बगेर गयो। “ऊ आमाले आँखा खोलिन् ” उनले मृत शरीरलाई देखाउँदै फेरि चिच्याइन् – “अस्पताल लैजाउन मेरी आमालाई” । समुन्द्रको छाल हुन्थ्यो उनको आँसु भने हजारौं कोसपर बस्ती डुब्ने थियो। आकाशको चट्याङ्ग हुन्थ्यो उनको चिच्याहट भने सयौं बस्ती उजाडिने थियो । तर, जति गरे नि उनले मृत्युबाट आमा खोसेर ल्याउन सकिनन् । अन्ततः घाट पुगिन् र आमालाई दागबत्ती दिइन् । बल्दै गरेको आगोसमेत डरायो उनको साहस देखेर । 

उनी घर आएपछि फेरि एकचोटी मुर्छा परिन् भित्तामा आमाको तस्बिर देखेर। “म कसरी समालियौँ यो अनुहार हेरेर, आमा” उनी फेरि चिच्याइन् र निकालिन् दराजबाटआमाको मन पर्ने सारी र अँगालो मारिन – “आमा, यो तिम्रो मन पर्ने सारी । यही सारीमा हुर्किए मेरा खुसी र सपना । मेरो खुसीको लागि तिमीले के गरिनौ ? कति जाडो मेरो मायामा काट्यौ, कति पेट खाली बस्यौ । म ठुस्किन्थे, म झर्किन्थे । तिमी हास्थ्यौँ, मलिन भएर बोल्थ्यौ । बल्ल बल्ल सपनाको बाली पाक्न आँटेको थियो । अब, तिमी छैनौ मेरो सपनाको के अर्थ ?  मेरो अस्तित्वको के अर्थ ?” उनी रोइन्, खुब रोइन्, आँसु नरित्तिउन्जेल रोइन् । आँसु रित्तिएर पनि रोइन् ।

मलाई लागेको थियो उनले अब होस गुमाउने छिन् । अनि म पनि एक्लो हुनेछु । त्यो उनको वेदना आफ्नी छोरीलाई जन्म दिएभन्दा कयौं गुणा बढी देखिन्थ्यो । अन्तत : अहिले उनकी आमा, मेरी सासु आमा यो संसारमा छैनन् । मेरी पत्नीका आँखामा आँसुका डोब छन् तर आफूले जन्माएकी छोरीका खुसीका  छालर पनि मेरी पत्नीका आँखामा छचल्किन थालेका छन् । एउटी आमा कसैकी छोरी हुँदाको पीडा र कसैकी आमा हुँदाको कर्तव्य मेरी पत्नीले महसुस गर्न थालेकी छिन् । उनले मृत्युलाई नजिकबाट चिन्ने मौका पनि पाएकी छिन् । उनी आफूले कुनै हालतमा स्वीकार्न नसक्ने तथ्यलाई बिस्तारै स्विकार्दैछिन् । उनी जीवन र मृत्यलाई नजिकबाट नियाल्दैछिन् । बिस्तारै मृत्यु स्वीकार्दैछिन् । 

मेरी सासुआमाको मृत्युमा पीडा हुनु त छ नै तर यसले आफन्त, साथीभाइ र नातागोताबीच अझ मझबुत र बलियो सम्बन्ध बनाएको छ । माया, करुणा, स्नेह र सहानाभूतिको बीजारोपण भएको छ । जीवन आखिर के रहेछ र ? तेरोमेरो भन्नु के रहेछ र ?  रिस, ईर्ष्या, डाह कति बेकार रहेछ भन्ने बुझाएको छ । उनीहरूका आफन्तबीच मलाई पनि प्यारो ज्वाइँ बनाएको छ । त्यो अभिशाप मृत्यु एक किसिमले आशीर्वाद पनि हो सायद !  मेरी सासुआमालाई हार्दिक श्रदाञ्जलि !

हालः अमेरिका  

 Link: https://baahrakhari.com/news-details/229081/2019-12-08

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.