कथा: मोबाईलका तस्बिरमा कृषा

लेखकः तुलसी आचार्य

मेरी जीवनसाथी कृपाले फेशबुकको मेसेन्जरमा पठाइदिएकी थिइन् हाम्री छोरी कृषाको तस्बिर अघिल्लो रात । बाहिर हेरे, हिउँ फ़ुस्फ़ुसाई रहेको थियो । अंग्रेजी फेब्रवरीको महिना थियो । अमेरिकाको न्युह्याम्सायर राज्यको डुर्हाम भन्ने ठाउँमा अवस्थित कटेज अफ डुर्हम भन्ने अपार्टमेन्टको एउटा कोठाभित्र बिस्तारामा पल्टिरहेको म नउठीकनै झ्याल बाहिरको दृश्य नियाल्न सक्थे । घरी—घरी झ्याल बाहिर हेरिरहेको थिए ।  बिहानको यस्तै ७ बजेको थियो । शनिबारको दिन थियो । कलेज जानु थिएन । काम थियो लुगा धुने, अर्को हप्ताको गृहकार्य गर्ने, तर हतारो थिएन । छोरी कृषाकै फोटो हेरिरहे ।

छोरीको तस्बिरलाई हेर्दै बाहिरतिर फेरी हेरे । त्यसरी नै हिउँ परिरहेको थियो,जसरी सिमलको रुखबाट भुवा उडेर छरपष्ट हुन्छ । माइनसमा थियो बाहिरको तापक्रम । यद्पी म कोठाभित्र हिटरको न्यानोको मज्जा लिइरहेको थिए । त्यहाँमाथि ब्लाङ्घकेटले बेरिएको थिए । झ्यालबाट प्रष्टै देखिन्थ्यो धुपी, सल्लो र देब्दारका रुखहरु । खुइलिएका थिए हिउँले, कुनैलाई पर्दै गरेको हिउँले घप्लक्कै ओढाएको थियो सेतो घुम्टो । घुम्टोभित्रबाट च्याहिरहेका थिए केहि धुपीका हाँगाहरु । घरका छानाहरू सेताम्मे देखिन्थे । मैले फेरी छोरी कृषाको तस्बिरलाई हेरे, उ मलाई हेरिरहेकी थिई । ‘बाबा मलाई पनि तपाईसंगै लैजानु न ल,’ उसले सायद यस्तै भन्दैथिई वा भन्दैथिई ‘तपाई कहिले आउने मामु र म संगै बस्न ।’ उसको बोली फुट्न अझै एक बर्ष बाँकी थियो । भर्खर दुई महिनाकी भएकी थिई उ । छोरीलाई हरेक दिन आफ्नो काखमा लिने रहर नभएको त कहाँ थियो र मलाई । हरेक दिन काखमा लिउँ, मेरै काखमा उसलाई हल्लाउँ ‘लै लै ला बाबालाई भन्दै’ जसरी मेरी आमाले मलाई त्यसरी नै हल्लाउँथिन जतिबेला म मेरी छोरी कृषाजत्रै, जस्तै थिए । उसका कलिला हातहरु आफ्ना हातहरुले स्पर्श गरौ । छोरीका हातहरु खेलाउदै ‘ताराबाजी लै लै’ भनौ त्यसरी नै जसरी मेरा बाले मलाई काँधमा राखेर गराउँथे । कुरा गरौ, ताकी कृषाले मैले बोलेको सुनोस ।  तर म अहिले सात समुन्द्रपारी, छोरी भन्दा धेरै टाढा हिउँको राज्यमा मेरो भबिष्य खोज्दैथे, मेरो पढाई सकिसकेको थिएन । अमेरिकामै धेरै वटा बिषयमा स्नातकोत्तर गरेपनि मेरो लेखक बन्ने चाहाना र सपना साकार पार्न म युनिर्भसिटी अफ निउ ह्याम्प्सायरमा आएर पढ्दैथिए जहाँ मलाई सहायक शिक्षकको जागिर पनि दिइएको थियो । छोरीको भबिष्य सोच्ने बेलामा म आफ्नै भविष्यमा रुमल्लिरहेको थिए । जीवनका धेरै रहरहरुको हत्या गरेर म सपना बुनिरहेको थिए बिदेशमा । यद्पी म खुशी थिए मैले मेरी आमाको नातिनी खेलाउने रहर र मेरी श्रीमतीको छोरी पाउने रहर दुवै पुरा गरेको थिए । यद्पी म उनीहरुसंग यतिबेला थिईन। आखिर खुशी भनेको त्यहि नै त रहेछ, जहाँ व्यक्ति भन्दा पनि परिवार खुशी हुन्छ ,माया लिनु भन्दा माया दिनुमा हुन्छ ।

कृषाका आँखाहरुले मलाई अझै हेरिरहेका थिए । घडीमा बिहानको ९ बजिसकेको थियो । हतारो केही नभएपनि मेरो बिहानको खाजा खाने बेला भइसकेको थियो । कहिलेकाहीँ म पढ्दा पढ्दै र कलेजको गृहकार्य गर्दागर्दै खान बिर्सिन्थे र पेटमा ग्याँस भरिएको पत्तै पाउँदिन थिए । हतार—हतार उठे । मुख धोए र किचन तिर चिया बनाउन गए । चिया खाने चिसो मौसम भएर होला सायद । बिधुतिय चुलो अन गरे र दुध बसाएँ । उम्लिन्छ भनेर त्यहि उभिएर बसे । अझै धित मरेको थिएन छोरीको फोटो हेरेर । फेरी गोजीबाट फोन निकाले र छोरीको त्यो अनुहार एकोहोरो हेर्न थाले । मनमनै सोचे कति प्यारो हुँदोरहेछ बाउलाई आफ्नी छोरी । आखिर उ पनि बिहे गरेर एकदिन कसैको घर जानुपर्छ । सधँैभरी त उ पनि म सङ्ग कहाँ रहन सक्छे र ? उसलाई पनि कोही माग्न आउँला , उसको रुप हेर्ला , उ संँग एकछिन गफ गर्ला,अनि मन पराउने या नपराउने निर्णय गर्ला । कृषाले पनि त्यसैगरी चिया लिएर आउली किश्तिमा र ओठमा मुस्कान राख्दै सबैलाई हात—हातमा दिदै जाली । मेरी छोरीको पनि त्यसैगरी हातमा चुरा होला, गलामा पोते, निधारमाथी सिन्दुर । कस्तो संँस्कृति हो नेपाली समाजको ? के यि सबै कृषाले गर्न सक्ली ? आँखाभरी आँसु भरिएर आयो । दुध अघि नै उम्लिएर आधा भन्दा बढि पोखिसकेछ । जति थियो त्यसैमा चियारंग हाले र झ्याल बाहिर हेर्दै सुरुप—सुरुप पारे । हिउँ पर्न रोकिएको थियो तर सेताम्मे थियो बाहिर ।

आज म अमेरिका छु, भोली सायद नेपालमा हाँैला । मेरी छोरी म बाट यसरी नै सात समुन्द्र जाली जतिबेला म नेपालमा हुनेछु  । मैले चिया पिइसकेको थिए । आज शनिबार भएर होला । खासै पढ्ने जाँगर म मा थिएन । ‘आ आइतबार पढौँला,’ त्यहि सोचे । छोरीको फोटो फेरी निकाले र हेर्न थाले । ‘दार्शनिक हुन्छे कि क्या हो बाउ जस्तै,’ मनमनै सोचे र हाँसे । अहिले आमा र हजुरआमाको काखमा खेलिरहेकी होली । ‘लै लै ला बाबालाई,’ भन्दै होलान् । कृषाका हजुरबाका दारीले सुम्सुम्म्याउँदै होलान् कृषाका गाला । कृषालाई घरमा भेट्न आउनेले ‘ओहो कति राम्री कृषा’ भन्दै पालो—पालो गर्दे बोक्दै होलान् । मेरी कृषा चाँही मलाई नै पर्खदै बसेकी होली । कृषाका हजुरबा हजुरआमा खुशी होलान एउटी नातीनी बोक्ने रहर पुरा भएकोमा । ‘तैले एउटा नातिनी जन्माईदिए हाम्रो सास राम्ररी जान्थ्यो’ यहि भन्थिन् कृषाकी हजुरआमा । अब मैले मेरा बाआमाको र कृषाको सपनालाई साथ् दिने जिम्म्मेवारी आएको थियो । म संधैभरी बाहिर रहिरहन सक्दिनथे । मैले सोचे,  बुढाबुढी हुँदै गएका मेरा बावुआमाको सेवा गर्नुछ । म त नेपाल फर्कौला र बाबुआमाको सेवा गराँैला तर म नेपाल फर्कने बेला सम्ममा कृषा पनि पढेर बाहिर जाने भैसक्छे होली त्यतिबेलासम्म  मेरो छोरीलाई मेरै आँखा अगाडी देखिरहने चाहना के पुरा होला र ?

छोरी कृषालाई फेरी हेरे मोबाईल ग्यालरीमा राखेको तस्बिरलाई जुम गर्दै, फेरी एकहोरो बोल्न थाले । भने ‘तेरी मम्मीसँंग भेट नभएको भए आज यो सुन्दर चेहेरा म कसरी हेर्न पाउँथे र छोरी ?’ छोरी सँंग बोल्न थाले । ‘अचानक तेरी मम्मी संँग भेट भयो फेशबुकमा । तेरी मम्मीका जिन्दगीका संघर्षहरु पनि धेरै रहेछन् । बाआमाको दुखलाई म जस्तै नजिकबाट नियालेकी, र जिन्दगीमा भौतिक सुख मात्र ठुलो कुरा होइन भन्ने बुझेकी र आफ्नो कर्तब्य र जेम्मेवारीलाई नजिकबाट नियालेकी कर्मयोगी, कुशल र इमान्दार रहिछे । उसका र मेरा चाहानाहहरु प्राय ः एउटै थिए, रुचि, र अध्ययनका बिषय सबै एउटै थिए । मैले मेरो जीवन,अतित, र भोगाईको सबै कथा सुनाएपछी तेरी मम्मीले मलाई छोड्नै सकिन, न मैले उसलाई सके । हाम्रो हरेक दिनको फेशबुकको भेटले हामी एकअर्काले एक अर्कामा देख्न थाल्यौ । हाम्रो विचार मिल्यो । मैले रुपको ख्यालै गरेनछु कस्ती थिई तेरी मम्मी जतिबेला सम्म उसलाई मैले भेटिन । हाम्रो गफ करिब एक बर्ष चलेपछी म नेपाल आए र तेरी मम्मीलाई एक्लै मन्दिरमा लिएर गए, सिन्दुर हाले त्यतिबेला मात्र मैले तेरी मम्मीको अनुहार राम्ररी हेरे र थाहा पाए तेरी मम्मी त संसारकै सुन्दर महिला पो रहिछ । त्यहि भएर तँ यती सुन्दर जन्मिस् । आँखा फेरी रसाए छोरीलाई हेर्दा हेर्दै । वरिपरि गुञ्जियो मेरी आमाको ‘लै लै ला बाबालाई’ । बाहिर हेरे फेरी हिउँ पर्न थालेको थियो । म दिन कुरिरहेको थिए जुन दिन म उनीहरुसंगै हुनेछु । मैले आँसु पुछे र भोलीको गृहकार्य गर्न लागे । मैले मेरो जीवनको क्यानभाषमा आफैलाई हेरे केहिबेर।

Advertisements

One comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.