म बाँकी जिन्दगी कसरि बिताउन चाहन्छु?

अहिले म उमेरले तिसको अन्त्यतिर छु। अमेरिकामा बस्न थालेको दश बर्ष भैसकेको छ । पेशाले बिधार्थी जीवन भर्खरै सकेर केहि कलेजहरुमा “पार्ट टाईम” पढाउदैछु, साथ्-साथै “फुल टाइम” जागिरको खोजीमा पनि छु। मलाई नेपाल फर्कन मन छ, नेपाल फर्कन चाहान्छु र बाँकी जीवन त्यतै बिताउन चाहान्छु।

                म जतिबेला सानो थिएँ म डाक्टर बन्न चाहान्थे । वास्तबमा मेरो बुवा त्यो चाहानु हुन्थ्यो। पछि मलाई महशुस भयो म त्यो हुन चाहान्नथे। म वास्तबमै के हुन चाहान्थे वा चाहान्छु सायद यो लेख लेख्दा लेख्दै अन्तिमतिर उजागर होला।

                “हुने या नहुने” को बिचबाट मैले मेरो जीवनलाई धेरै समयदेखि गुजारेको छु। हरेक चोटि भावनाले तर्कलाई हराएपछि मैले जिन्दगीमा धेरैचोटि सहि निर्णय गर्नबाट चुकेको छु। म धेरै चोटि आफ्नै निर्णयमा बिचलित पनि भएको छु।एउटा फिल्मको राम्रो कलाकार देख्दा उही हुन चाहेको छु। बिकट ठाउँमा मान्छे डाईरियाले मर्दा म आफै डाक्टर हुनुपर्छ क्या हो भनेर सोचेको छु। कि समाजसेवी भएर काम गरौ भनेर आफ्नै मनलाई सोधेको छु। देश गरिबी र भोकमरीले जर्जर हुँदा, र राजनीतिज्ञहरुले गरेको राजनीति जनताको लागि नभएर आफ्नै घमण्ड र हितको परिपूर्तिकोलागि हुँदा त्यसले जन्माएका भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, कृपाबाद, नाताबाद, लुट, मनपरीतन्त्रको बिरुद्द लड्न कि म आँफै राजनीतिमा होमिउ भनेर इच्छा ब्यक्त गरेको छु । जसले गर्दा मैले देशमा पिछडिएका ब्याक्तिको, जसको आफ्नो आवाज छैन, उनीहरुलाई सम्बोधन गर्न सक्थे। मैले पत्रकार पनि हुन चाहेको छु जसले शक्तिमा रहेका मान्छेलाई प्रश्न गर्ने ल्याकत राख्छ र उनीहरुलाई समाज र राष्ट्रप्रति बफादार र जिम्मेवारी बनाउँछ ।

                तर म अहिले केहि भएको छैन, र त्यहि कुरा म यहाँ लेखिरहेछु, भनिरहेंछु ।

                जव म आँफैतिर फर्केर हेर्छु र सम्झिन्छु म के र को हुन सक्छु? म मेरो आफ्नो पृष्ठभूमि नियाल्छु म कलेज जान थालेपछि यताको।

                मैले मेरो पहिलो एम ए अंग्रेजी साहित्यमा २००३ सालमा सिद्ध्याए तर मलाई एक्कासि पत्रकारिताको भुत चड्यो र नेपाल प्रेश ईन्स्टिच्युटमा एक बर्षे पत्रकारिता तालिम लिएँ, र त्यसको लगतै विभिन्न कलेजमा पत्रकारितानै अध्यापन गराउन थाले । यसले मेरो पत्रकारिताको चाहानालाई अझ तिब्र बनायो । मैले ११ र १२ कक्षामा पढ्ने बिद्यार्थीहरुको लागि आमसंचार र पत्रकारिताको किताब पनि लेखे र प्रकाशित गरे। २००८ साल तिर म अमेरिका होमिए र प्रोफेशनल लेखनमा दोस्रो एम ए  गरे । त्यहि क्रममा मैले “इन्टरनशिप” को लागि CNN मा मैले आफ्नो बायो पनि पठाए र शर्ट लिस्टेटमा छानिए पनि। त्यहि आधारमा मेरो झन्डै आधि घन्टाको अन्तर्वार्ता भयो फोनमा तर मलाई छानिएन, पछि बिचार गरे सायद मेरो मोटो र अष्पस्ट लवजको कारण थियो। कुहिरेको देशको अंग्रेजी मेरो नेपाली जिब्रोले भेउ पाएन सायद। त्यहींबाट मेरो पत्रकारितामा इच्छा मरेर गयो। तर मेरो लेखनप्रतिको इच्छा मरेको थिएन। त्यहि क्रममा मैले आफ्नै जीवन अनुभबलाई संगालेर एउटा उपन्यास लेखे “रनिङ्ग फ्रम दि ड्रिम्ल्याण्ड” र प्रकाशित गरे २०१४ सालतिर । यद्दपि म निश्चिन्त भने थिइन म के हुन् चाहान्छु। म लेखनमा बामे सरिरहेको थिए र अझै छु । मलाई ठ्याक्कै के कारण भन्ने थाहा छैन तर मैले फेरी तेस्रो एम ए गरे अमेरिकाकै अर्को फ्लोरिडा एट्लाण्टिक युनिभर्सिटीबाट महिलाको बिषयमा त्यसले मलाई लैंगिक र यौनिक बिषय बुझ्नलाई मदत गर्यो। त्यसको लगतै त्यहि विश्वबिध्यालयमा मैले बिधावारधि गरे नीति तथा जनप्रशासन बिषयमा र मेरो सोध पत्र थियो “असाहयका लागि बनाईएका नीति र असाहयका जीवनकथाहरु” ।

                अहिले मेरो बिधावारधि पनि सिद्दिसकेको छ । म बिबाहित पनि छु। र मेरी एउटि चार महिनाकी छोरी पनि छ।

                अब प्रश्न उठ्छ: अब म के गर्ने? अर्थात के बन्ने?

                पछाडी फर्केर हेर्छु। म डाक्टर बन्न चाहान्थे, मेडिकल डाक्टर। मेरो डाक्टर बन्ने सपना पुरा भएको छ तर मेडिकल होइन पी एच डि डाक्टर । म मान्छेको शारीरिक सर्जरी गर्न सक्दिन तर आलंकारिक  रुपले भने मान्छेको हिर्दयको सर्जरी भने शब्दमा गर्न सक्छु। फेरी पनि त म समाजसेवी भएर काम गर्न सक्छु जसका लागि कुनै पेशाले छेकथुन गर्न सक्दैन । मात्र म मा सहयोगी भावना हुनु पर्यो जसले गर्दा मैले दुखमा परेकालाई सहयोग गर्न सकौ।

                के म राजनीतिज्ञ हुन सक्छु त फेरिपनि? सायद, तर म निश्चिन्त छैन। लाग्छ म संग भिजन छ नेतृत्व क्षमता छैन । यदि म संग नेतृत्व क्षमता छैन भने मैले मेरो भिजनलाई कसरि बिकाउने? मैले त ठग, लुटाहा, चोर, फटाहा, गुण्डा, देशद्रोही, अधर्मी, पापीहरुसंग “डील” गर्न सक्नुपर्छ “लौरो पनि नभाँचिने शर्पपनि मर्ने” गरि। के त्यो सम्भब छ म बाट? यदि कसैले मेरो बारेमा प्याच्च भन्दियो भने? मेरो चरित्र हत्या गर्ने काम गर्यो भने म के गरौ? म आँफै भाबुक छु। रुन थाले भने झन् जिस्काउलान र भन्लान “रुन्चे” , “नामर्द” जसले मलाई अझ बढी दुखि बनाउला । हुन त राजनीतिमा छिर्न योग्य त म होनी किनकि नीति र जनप्रशासनका बिषयमा बिधावारधि गरिसकेको छु तर मलाई कसले ठाउँ दिने जहाँबाट मैले आफ्नो भिजन परिचालित गर्न सकौ? बर्षौदेखि, कलेज देखि राजनीति गरेका, शक्तिको पछि दौडने केहि कार्यकर्ताहरु केशफुलिसक्दा पनि आँफुले चाहेको पदमा पुग्न अझै सकेका छैन । बिचरा म बबुरो भोलि राजनीतिमा छिरेर मेरो झन् के अभिगत होला? भर्खरका जवान र जुजारु युवा नेताहरु जसलाई रास्ट्रले समेत राम्रै ठान्छ , जस्तो गगन थापा, त्यस्ताका त केश फुलिसके त्यो ठाउँ पुग्ने चाहाना राख्दा राख्दै जहाँ बाट उसले आफ्नो भिजन परिचालित गर्न सक्थ्यो, मेरो राजनीतिमा छिर्ने स्वयर कल्पना त परै जावोस।

                एक पटक त यस्तो सोचाई पनि आउँछ कि म फेरी सी के रावत जस्तै अर्को कोहि भएर निस्किनु पर्यो? भित्र भित्र गुट बनाउने, देश र सरकारको बिरुद्द आवाज उठाउने, द्वन्द चर्काउने । त्यति गरेपछि देशद्रोहीको बिल्ला भिरिन्थ्यो, एक दुइ चोटि जेल जाईन्थ्यो र अन्तत्वगत्वा बार्तामा आईन्थ्यो, गजबको एउटा सिट त पाइहालिन्थ्यो। कि माओबादिले गरेको जनयुद्द जस्तै अर्को युद्द सुरु गर्नु पर्यो र मेरो पनि टाउकाको मूल्य तोकिन्थ्यो, येनकेन प्रकारेण मुलधार राजनीतिमा प्रवेश गरिन्थ्यो। सायद यहि कारण होला बिप्लव फेरी जंगल पसेको हल्ला हुँदैछ । तर मलाइ मान्छे मार्नु छैन, कसैको निर्दोस जीवनको हत्या गर्नु छैन। फेरी नेपाल आमालाई रुवाउनु छैन। मैले फेरी यो देशलाई आफ्नो स्वार्थको लागि र नेपाली जनताको नाम बेचेर अरु १०० बर्ष पछाडी धकेल्नु छैन ।

                केहि बर्ष अघि, राजनीतिको भुत चडेर मैले पनि भर्खरै खोलेको पार्टी नया शक्तिमा प्रवेश गर्नु पर्यो भनेर बाबुराम भट्टराईलाई फेसबुकमा मेसेज गरेको थिए, उत्तर आएन। कि मेरो कुरो उनले देखेनन् कि ‘आ यो कुन उट्पट्याङ्ग हो’ भनेर वास्ता गरेनन । खैर जे होस् तुरुन्तै महसुस भो म तर्कले भन्दा भावनाले हरेक निर्णय गर्छु, त्यो सहि हुँदैन।

                उसो भए म के हुन वा बन्न सक्छु त?

                सायद म एउटा लेखक बन्न सक्छु । किनकि म लेख्न मन पराउछु । अहिले पनि यहि कुरो लेखिरहेको छु। म जे को बारेमा पनि लेखिरहन्छु। कहिले अर्थ दिने लेख्छु, कहिले लेखमै बरालिंछु। के म लेखक र राजनीतिज्ञ दुवै हुन सक्दिन त ? बिशेस्वर प्रसाद कोइराला दुवै थिए त।

                ल त्यो पनि ठिक छ। मानौ म राजनीतिज्ञ हुन्न । एउटा फिल्म स्टार त हुन सक्छु नि। सानै देखि नायक बन्ने मेरो इच्छा थियो। आमाबुवा बजार गर्न बाहिर गएको मौका पारेर म बहिनि र साथीहरुलाई भेला पार्थे र बरन्डामा उनीहरुलाई नाटक खेल्न निर्देशन गर्थे। त्यो गुण भनौ या भुत म भित्र अझै मरेको छैन । राम्रो कलाकार हुन् हेन्डसमनै पनि त हुनु पर्दैन । नपत्याए दयाङ्ग राईलाई सोधेपनि हुन्छ। उसो भए कलाकार साथसाथै राजनीतिज्ञ हुन पनि त मिल्ने रैछ । भन्नु नपर्ला अहिले कलाकार, पत्राकार धेरै राजनीतिमा होमिसकेका छन्। एउटा ब्याक्ति सबै थोक हुनसक्छ त? फेरी प्रश्न गर्छु । किन नहुनु ? रबिन्द्र मिश्रलाइ हेरौ त । उनि पत्रकार पनि हुन्, कबि पनि हुन्, फिल्मको कलाकार पनि हुन्, अब त अहिले उनि झन् राजनीतिज्ञ ।

                तर म चै अब के हुने?

                मैले निर्णय गरे म लेखकनै बन्छु। मेरो पत्रकार हुने चाहाना पनि थोर बहुत पुरा हुन्छ । किनकि म लेख्छु। आफ्नै ब्लगमा लेख्छु। भिड्यो बनाउछु आफ्नै ब्लगमा हाल्छु। लेख्छु, नेताको बारेमा लेख्छु, जनताको बारेमा लेख्छु, उनीहरुको आवाजको बारेमा लेख्छु, झुपडीको बारेमा लेख्छु, मनमा लागेको कुरा लेख्छु ।  अब आफ्नै देश नेपाल फर्केर लेख्छु।

                “हात मुख जोर्न पुग्छ तिम्रो देश फर्केर ? तिम्रा लेखले पुग्छ र ? अब त भर्खरै छोरी पनि जन्मेकी छिन!” एउटा साथीले सारै नमज्जाले भन्छ।

                “पोलिटिक्स तिर छिर्नु पर्ला,” म भन्छु उ संग साहायता मागेझैँ गर्दै ।

                उ खितखित हाँस्छ मुख छोप्दै मानौ उसले नेपालको राजनीतिको, राजनीतिक संस्कृतिको धज्जी उडाउदैछ ।

                “अब त मेरो विधावारधि भो, गएर कलेज पढ़ाउछु नि” म थप्छु।

                “त्यो त तिम्लाई मेरो सलाम छ। तर तिमिले हासिल गरेको यो सिक्षाको मूल्य पाउन गारो छ” उ भन्छ । “तिमि जहाँ छौ त्यहि बसे राम्रो। तिम्रो छोरीको भबिस्य सम्झ। तिम्रो श्रीमतीको खुशी सम्झ।”

                उसलाई थाहा छैन म यहाँ कतिपनि खुसि छैन। म नेपाल फर्किन चान्हान्छु अब र बाँकी जिन्दगी हिमालको काखमा एउटा घर बनाएर, बिहानको शितल हावामा योगा गर्दै दिउसोको ताजा र न्यानो सुर्यको राप लिदै, लेख्दै पढ्दै म बाँकी जिन्दगी बिताउन चाहान्छु त्यतिबेला सम्म जतिबेला मेरो हात र मस्तिष्कका नसाहरुले काम गर्न छोड्छन  । राजनीतिमा छिर्छु या छिर्दीन मलाई थाहा छैन।

One comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.