जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ…

क्षेत्रप्रताप अधिकारीद्धारा लेखिएको र रामकृष्ण ढकालद्वारा गाइएको “जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ”बोलको यो गीतमा यथार्थ जीवन धरातलको बोध गराईएको छ । जन्मेपछि मानिस एक दिन अबस्य मर्छ त्यो सत्य हो ,खैर देह र आत्माका फरक बिचार, दृष्टिकोण र दर्शन भेटिन्छन् । मृत्यु अन्तिम सत्य हो भन्ने कुरालाई यो भौतिक दुनियाँमा कसैले नकार्न सक्दैन । जन्मेपछि नमरुन्जेल सम्मको समयमा मानिसले धेरै कुराको चाहना राख्छ कति पुरा हुन्छ, कति हुँदैन । कतिको चाहाना राख्दा राख्दै उसको सपनाको अन्त्य हुन्छ मृत्युसंगै /

मेरा पनि अरु जस्तै जीवनमा धेरै चाहाना थिए, अझै छन पनि । हिजो जुन चाहानाहरु थिए आज पनि त्यस्तै, त्यो भन्दा बढी वा अलिकति फरक भए होलान तर चाहानाका चाङहरु अझै छन् । उमेर बढ्दै गएपछि चाहानाको किसिम पनि फरक‒फरक हुँदोरहेछ । एक जमानामा राम्रो लाउन र मिठो खान पाए हुन्थ्यो भन्ने चाहाना हुन्थ्योे त्यसपछि अलिकति सम्पति जोडेर राम्रो घर बनाउन पाए हुन्थ्यो भन्ने चाहाना भो । त्यसपछि मलाई दुख गरेर हुर्काउने मेरा बुवा आमाको सपना पुरा गर्न पाए हुन्थ्यो भन्ने भो, यसो भन्दा भन्दै जीवनको ३५ वटा बर्ष काटिसकेको छु मैले । अहिले मलाई लाग्दैछ मैले जीवनमा धेरै कुरा गर्न बाँकी नै छ जुन मैले सुरुवात नै गरेकै छैन । सबभन्दा ठुलो कुरा त मर्न बाँकी छ, त्यो कुनबेला हुने हो कसैलाई थाहा हुन्न । अहिले मलाई लाग्दैछ पहिला आमा बुवाका सपनाहरु पुरा गरिसकौं , श्रीमतीलाई खुसि दिउँ, मेरो अध्ययन सकाउँ, अनि अलिकति पैसा कमाउ, जम्मा गरौ अनि आफ्नो देशमा फर्कौ अनि पुरा गरौ मनका चाहानाहरु । तर यसो भन्दै गर्दा आफना नितान्त चाहाना र उद्धेश्यहरु यत्तिकै हराउँदा रहेछन् । समय आफनै रफतारमा अगाडि बढिरहेको छ , कतै मेरा चाहानाहरु पुरा नगरी समयले मृत्युसम्म पु¥याउने पो हो कि ? भन्ने डर पनि मनमा आउँछ ।

म आफ्नै देशमा गरिबीले निम्त्याएको जर्जर अवस्था देख्छु, बिकट ठाउँमा मान्छेले भोग्नु परेको सास्ती देख्छु, टुहुरा बालबालिका देख्छु, सिटामोल नपाएर प्राण त्याग गरेका मानिस देख्छु, मुटुमा ढुँगा लाग्छ र सम्झिन्छु मैले गर्न धेरै बाँकि छ । यि दुःखी गरिविले पिल्सिएकाहरुलाई केहि सहयोग मात्र गर्न पाए पनि यो जन्मले सार्थकता पाउँथ्यो भन्ने चाहाना मनमा छ र पनि पैसा कमाउनुपर्ने र परिवारका चाहाना पुरा गर्नुपर्ने दायित्वले मलाई बन्धनभित्र पारेको महशुश गर्छु । आमा बुवा संग कुरा गर्छु उनीहरु भन्छन “तेरो आफ्नै हालत कमजोर छ कसरी गर्छस, भोलि तलाई केहि भयो भन,े खै पैसा त आफैलाई खर्च गर्न , हामीलाई केहि भयो भने कसले गर्छ ? “ए हजुर हिजो खोलाले खेत बगाएर लगेपछि हामि सुकुम्बासी भएको बिर्सिनु भो? कमसे कम अहिले त हाम्रो धेरै राम्रो छ । काठमान्डूमा घर छ, विहान बेलुका राम्रै खाइएको,राम्रै लाईएको छ । हेर्नु त एकछाक पनि खान नपाएर मर्नेहरु कति छन् यहाँ ,हामि त्यस्तै गरिबी बाट आएको होइन र ? उनीहरुलाई कसले हेर्छ ?“म विगत सम्झाउदै बुवाआमासँग प्र्रतिरोध गर्छु । बिचरा बुढाबुढी भइसकेका आमा—बुवासंग मैले के तर्क गर्ने । उनीहरुको मन दुखाउन मन लाग्दैन त्यसपछि श्रीमती संग जान्छु । उनि सायद मेरो समकालीन भएर होला केहि बुझे जस्तो गर्छिन र भन्छिन “बुढो मेरो चाहाना पनि त्यहि हो मर्नु पहिले केहि सामाजिक काम गर्न पाए हुन्थ्यो ,हाम्रो नाममा एउटा च्यारिटी खोलेर गरिब र असाहयको सेवा गर्न पाए हुन्थ्यो तर हेरन त्यो गर्न पनि त पहिला पैसा नै चाहिन्छ फेरी हाम्रो आर्थिक स्थिति पनि कहाँ त्यति बलियो छ र ? । भर्खर त आमा बुवाका सपनाहरु पुरा गर्देछौ अझै कति बाँकी नै छन् , मैले मेरा सपनाका कुरा गरेकै छैन मलाई पनि त राम्रो लाएर, बुढासंग केहि समय रमाइलो गरौ, कतै डुल्न जाउँ भन्नेछ । त्यसमाथि छोराछोरीलाई हुर्काउन, पढाउन पैसा चाहिन्छ, आफु दिन दिनै बुढो हुँदै गइन्छ, रोगी भइन्छ, त्यति बेला कसले हेर्छ , अहिले सम्म एक तोला सुन किनेर लाउन सकेको छैन आमा बाउको सपना भन्दै, पहिला त पैसा नै कमाउनु पर्छ” यी सबै कुरा सुनेर म अवाक हुन्छु । के मैले सोचेका काम गर्न मलाइ पैसा नै चाहिने हो ? अथवा मैले कहिलेसम्म उनीहरुका सपनाहरु पुरा गरिसकेर आफना सपनाहरु पुरा गरुँ ? कि उनीहरु आफ्ना चाहानालाई बिर्सेर , जति छ त्यतिमै रमेर मलाई साथ दिन सक्दैनन् ? हातमा हात मिलाउन सक्दैनन् ? के मर्नु पहिले मैले धेरै काम गरिसक्छु त ? मेरो समाजसेवाको चाहाना पुरा गर्न पाउँछु होला त ? यस्ता अनगिन्ति जिज्ञासाले सधै मेरो मनमस्तिष्कमा डेरा जमाउँछ ।

अमेरिकन कबि रबर्ट फ्रोस्टले लेखेको कबिता “स्टापिंग बाई अ स्नोइङ्ग एभिनिंग“ को याद आयो । जसको अन्तिम हरफमा आफ्नो कर्तब्यको स्मरण गराउदै उनले भनेका छन् “माइल्स टू गो बिफोर आई स्लिप” अर्थात “म धेरै टाढा जानु छ मर्नु भन्दा पहिला”। यसलाई अलिकति व्याख्या गर्छु, कबि घोडामा चडेर एउटा हिउँ परेको रात जंगलको बाटो जादै हुन्छन् । हिउँको त्यो सुन्दरता देखेर उनि टक्क रोकिन्छन् र सुन्दरता अवलोकन गर्न थाल्छन् , घण्टौसम्म कवि त्यो सुन्दरतामा मन्त्रमुग्ध भएको देखेर विष्मित हुँदै घोडाले टाउको हल्लाउँछ र घोडाको घाँटीमा लाएको घण्टी बज्छ । घण्टीको झँकारले कवि झल्याँस्स हुन्छन् ,त्यसले कविलाई कर्तब्यबोध गराउछ र कबि अघि बढछन् ।

घोडाको घण्टी जस्तै अहिले मेरो चेतनामा घन्टी बजिरहेको छ र बोध भईरहेको छ मर्नु भन्दा पहिले धेरै गर्नु छ । प्रश्न गरिरहेछु कतै हिउँले भरिएको त्यो सुन्दर जंगल जस्तै परिवारको मायामा म अल्झेर मेरो आफ्नो, समाज र राष्ट्रप्रतिको कर्तब्य त भुलिराखेको छैन ? सोच्छु यदि मैले मेरो मन भित्र बजेको त्यो घोडा घण्टीलाई सुनिन भने मैले मर्नु भन्दा पहिले धेरै काम गर्न सक्ने छैन ।

यद्यपी मेरा अगाडी दुई वटा जिम्मेवारी आइपुग्छन मेरो परिवार प्रतिको कर्तब्य र मेरो समाज प्रतिको दायित्व मलाई मेरो परिवारले सहयोग गरेन भने के मर्नु पहिले मेरो चाहाना पुरा होला? मैले मेरो परिवारलाई नसुने अघि बढे भने के म खुसि हुन सकौला वा मेरो चाहाना पुरा हुन सक्ला? म फेरी श्रीमतीलाई मनाउन तिर लाग्छु, बाउआमालाई मनाउन तिर लाग्छु “यति धेरै नेताहरुले गर्न नसकेको काम, यो सरकारले गर्न नसकेको काम अब पैसा न सईसा तैले गर्ने भइस ? भनेर प्रश्नहरु जन्मिन्छन् निरुत्साहितको । म हातमा चिउँड़ो राखेर गम्न थाल्छ,ु मन भित्र घोडा घण्टी बजिरहन्छ ।

हामीले सरकारको मुख धेरै ताकेउ, नेताहरुलाई धेरै पटक जितायौ, उनीहरुलाई सुन्यौै, बिस्वास ग¥यौँ, केहि परिवर्तन त भए तर जनताको जीवनस्तर कहिल्यै माथी उठ्न सकेन । अहिले शहरको बाटाभरि छोडिएका, फालिएका, रोगी, टुहुरा उत्ति नै देखिन्छन, गाउँतिर र पहाडतिर छिर्ने हो भने स्कुल छोडेर कलिलै उमेरमा निधारमा नाम्लाको डाम लिएर हिडेका बालबालिकाहरु बग्रेल्ती भेटिन्छन् । समयमा उपचार हुन नपाएर र उपचार खर्च नपाएर हरेक दिन गरिबहरु मरिरहेका छन । अपाङ्ग तथा वृद्ध(बृद्धाहरुको अवस्था त्यस्तै दयनीय छ आखिर यस्तो अवस्था देखी देखी कसरी टुलुटुलु हेरेर बस्न सकिएला ? हामीले नगर्ने हो भने कसले गर्छ ? मैले नगरे कसले गर्छ ? यो प्रश्न जन्मिन्छ र म भाबुक हुन्छु र सुन्छु केवल मेरो मन भित्र बजिरहेको घोडा घण्टीलाई “होइन मैले मर्नु भन्दा पहिले धेरै गर्नुछ“ के यसको लागि मलाई पैसा नै चाहिन्छ ? विना पैसा के यि कुरा सम्भव हुदैनन?

झल्याँस सम्झिन्ंछु गजेन्द्र सरलाई अर्थात गजेन्द्र राना मगर । उनले गुमिको ढोेडेनीमा जनसंयुक्त प्रावि बेतलबी पढाउन सुरु गरे । विद्यार्थी नआएर अर्को स्कुलसँग गाभिने सँघारमा रहेको जनसंयुक्तमा सयौ बिधार्थीको भबिष्य उज्यालो बनाए । आफुसंग भरपुर योग्यता भएर पनि, उनका सबै साथी विदेश जाँदा पनि उनि नगई गाउँमा गएर बेतलबी पढाउन थाले निस्वार्थ भावले, उनले मनको घोडा घण्टीलाई सुने । उनका परिवारले त्यसो नगर्न सल्लाहा दिदा पनि उनले छोडेनन्, आखिर आज गजेन्द्र सर भए, उनलाई देश विदेश वाट सहयोग गर्ने त्यति नै भए, स्वयं मैले समेत रु ५ हजार सहयोग गरे । यी त हामीले बिरलै सुनेका या देखेका पात्रको एउटा उदाहरण मात्र हो । यस्ता निस्वार्थ भावले समाजलाई योगदान दिन हरदम लागिरहने पात्रहरु धेरै छन् हाम्रो समाजमा । सुनेका पात्रमा पनि नामको लिस्ट धेरै लामो छ जस्तो धुर्मुस सुन्तली जसले भुकुम्प पछि घर बिहिन भएकाहरुलाई जीवन दिए,अरु थुप्रै कामहरु गरिरहेका छन् । त्यसै गरि दिक्षा चापागाईं जसले सडकमा बेबारिसे भएका व्यक्तिलाई आमा बनेर प्राण दिइरहिन । त्यसैगरी पुष्पा बस्नेत जसले लाउँलाउँ र खाउँखाउँ भन्ने २१ बर्षको उमेरमा जेलमा बसेका बेबारिसे बच्चालाइ आफुले ल्याएर पालन पोषण गरिरहेकी छन् । त्यसै गरि बयोबृद्ध हरुको सेवामा त्यतिनै हाजिर छन् यस्ता परोपकारी मनहरु जसले न सरकार कुरे न नेतालाई पुकारे आफनो दायित्व सम्झेर स्वयं लागि परे । उनीहरुले समाजलाई नै परिवार माने यसरी समाजलाई नै परिवार मान्ने मानिसको संख्या धेरै नै छ जुन मैले यहाँ सबैको नाम लिएको छैन , एउटा उद्दहरण मात्र दिएको हँु ।

नेपाली मात्र हैन, विदेशवाट पनि नेपाल आएर यहाँको समाजसेवामा योगदान दिनेहरु धेरै छन् । जस्तैः अमेरिकी नागरीक म्यागी डोएंन । सन् १९८६ मा जन्मेकी उनि १८ बर्षको कलिलो उमेरमा नेपाल आइन् । बिहान उठ्दा उनको मनमा घोडा घन्टी बज्यो , ब्याग बोकेर नेपाल आईन ,उनले बच्चाहरुले कलिलो उमेरमा पढ्न छोडेर दुख गरेको देखिन्, कति टुहुरा भेटिन्, कति असहाय पाईन । उनीहरुलाई हेरचाहा गर्ने अठोट मनमा लिइन तर उनीसँग त्यतिबेला १ रुपिया पनि थिएन सपोर्ट गर्न ,मात्र चाहाना थियो । अमेरीका बाउआमालाई फोन गरिन र उनको नाममा भएको पैसा पठाउन अनुरोध गरिन । त्यहीबाट पहिलो ६ बर्षकी बच्चा जसको नाम हिमा थियो,उनको उद्दार गरिन एक जना वाट सुरुवात गरेकी उनले अहिले २ सय भन्दा बढी बालबालिकाको उद्धार गरिसकेकी छिन ।

त्यसैले लाग्छ सबैभन्दा ठुलो त मन नै रहेछ, पैसा त त्यसपछि मात्र आउदो रहेछ । विदेशीले त यती धेरै माया गरेको यो देशका नागरिक हामी किन मर्नु भन्दा पहिले यी सबै काम नगर्ने, किन मनको घोडा घन्टी नसुन्ने? किन यो काम गर्न अरु कसैलाई पर्खिने? किन आफ्नो परिवारलाइ आजै नसम्झाउने “परोपकारी काम गर्न पैसा चाहिदैन बस मन भए पुग्छ“ । अहिले म फेरी गुनगुनाउदै छु क्षेत्रप्रताप अधिकारीको गीत “जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ सबै भन्दा ठुलो कुरा मर्न बाँकी छ” र सम्झिदैछु रोबेर्ट फ्रोस्टको “माइल्स टू गो बिफोर आई सिलीप” एक पटक फेरी ।